काठमाडौंः वरिष्ठ पत्रकार तथा साहित्यकार राजेन्द्र पराजुलीको निधन भएको छ । 

निमोनिया बिग्रीएर अस्पतालमा उपचार गराईरहेका पराजुलीको उपचारकै क्रममा मंगलबार निधन भएको हो ।

पारिवारिक स्रोतका अनुसार बिएन्डबी अस्पतालमा उपचारका क्रममा पराजुलीको मंगलबार बिहान निधन भएको हो। अस्पताल स्रोतका अनुसार  बिहान ३ बजे उनको मृत्यु भएको हो। उनी ५८ वर्षका थिए। उनलाई सोमबार राति अस्पताल पुर्याइएको थियो। उनको आजै आर्यघाटमा अन्त्येष्टि गरिनेछ। 

पराजुली नेपाल समाचारपत्र दैनिक लगायत थुप्रै संचारमाध्यममा सम्पादकिय टिममा रहेर लामो समय काम गरेका थिए । उनी पछिल्लो समय साहित्य सृजनामा निकै सक्रिय थिए । उनी नेपाल आर्थिक पत्रकार संघ (नाफिज)का सल्लाहाकारसमेत थिए । 

पराजुलीको निधनले नेपाली साहित्य क्षेत्रले एउटा असल , क्षमतावान र प्रभावशाली व्यक्ति गुमाएको उनलाई नजिकबाट चिन्ने साहित्यकार देविका तिम्सिनाले जानकारी दिइन् । 

पत्रकार एवं समाजवादी प्रेस संगठन नेपालका महासचिव रामकुमार एलनले नेपालको पत्रकारिता जगतले निडर, स्वच्छ छवि भएका पराजुलीलाई गुमाउँदा ठूलो क्षति सहनु परेको बताए ।

उनका अघोरी, कोटेश्वरको केटो, विकल्प यात्रा, भ्रष्ट संवेदना, शुक्रराज शास्त्रीको चश्मा, अनायिका, सपनामा माक्र्स लगायत कृतीहरु निकै चर्चित छन् । 

376827793_6621595154562249_126950287168298347_n