काठमाडौंः स्वर्गीय संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले)ंउपाध्यक्ष सुवासचन्द्र नेम्वाङको बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले नेम्वाङको पार्थिव शरीर भोलि बुधबार दिउँसो १ बजेसम्म च्लासलस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिने जानकारी दिए ।
त्यसपछि पारिवारिक तथा धार्मिक संस्कारका लागि नेम्वाङको पार्थिव शरीर बालुवाटारस्थित निवासमा राखिने र उनका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।
गृह मन्त्रालयले एक विज्ञप्ती प्रकाशित गरि बिहिबार सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ । नेपालको संविधान निर्माण तथा जारी गर्नका लागि स्वर्गीय नेम्वाङले निर्वाह गरेको भूमिका तथा नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न पुर्याएको योगदानको उच्च कदर गर्दै मन्त्रिपरिषद्को बैठकबाट उनको निधनमा अन्तिम सम्मानको व्यवस्था गर्ने तथा शोक मनाउन अन्तिम संस्कार हुने दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको थियो ।
नेम्वाङको अन्तिम संस्कार भदौ २८ गते बिहीबार हुने भएकोले उक्त दिन नेपालभरका सबै सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा हुने गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिएका छन् । सो दिन कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने पनि शर्माले विज्ञप्तिमा उल्लेख गरेका छन् ।