काठमाडौंः संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको बिहीबार राजकीय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । बिहान ११ बजे निजी निवास बालुवाटारबाट शवयात्रासहित पशुपतिस्थित आर्यघाटमा पुर्याएर हिन्दू तथा लिम्बू परम्पराअनुसार नेम्वाङको पार्थिव शरीरलाई अन्त्येष्टि गर्ने गरी सरकारले तयारी गरेको छ ।पूर्वसभामुख तथा एमाले उपाध्यक्ष नेम्वाङको शवयात्राको लागि रुट तय भएको छ । नेम्वाङको शवयात्राका लागि बालुवाटारस्थित निवासदेखि पशुपति आर्यघाटसम्मको रुट तय गरिएको एमाले केन्द्रीय प्रचार विभागले जनाएको छ । केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार नेम्वाङको शवयात्राको रुट बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगन्ज–नारायणगोपाल चोक–धुम्बाराही–चाबहिल–गौशाला हुँदै पशुपति आर्यघाट तय गरिएको छ ।
‘उहाँको शवयात्रा त्यसअघि नै हुने हुँदा शवयात्रामा सहभागी भई अन्तिम श्रद्धाञ्जली अर्पणका लागि आ–आफ्नो अनुकूलतामा निजी सवारीसाधन हुनेहरू शंखपार्क, धुम्बाराही र सवारीसाधन नहुनेहरू गौशाला (वडा प्रहरी कार्यालयअगाडि)पुग्न हुन अनुरोध गरिन्छ,’ विष्टले विज्ञप्तिमा भनेका छन् ।
श्रद्धाञ्जली अर्पणका लागि नेम्वाङको पार्थीव शरीर बुधबार दिउँसो १ बजेसम्म एमाले पार्टी कार्यालय च्यासलमा राखिएको थियो । त्यसपछि उनको पार्थीव शरीर बालुवाटारस्थित निजी निवासमा राखिएको छ । पार्टी कार्यालयमा चीन भ्रमण छोट्याएर फर्किएका महासचिव शंकर पोखरेललगायतले श्रद्धाञ्जली व्यक्त गरेका थिए । बुधबार पनि विभिन्न राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रमुख, समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरू, उच्चपदस्थ अधिकारी, ठूलो संख्यामा पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुकलगायत श्रद्धाञ्जलीका लागि एमाले कार्यालय च्यासल पुगेका थिए ।
निजी निवास बालुवाटार पुर्याइएपछि पारिवारिक तथा धार्मिक संस्कारअनुसार नेम्वाङलाई श्रद्धाञ्जली व्यक्त गरिएको छ । त्यहाँ नेम्वाङप्रति आफन्तजन, इष्टमित्र र परिवारका सदस्यहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।