काठमाडौंः चालु आर्थिक वर्ष २०८०र८१ को सुरुआती दुई महिनामा सरकारी बजेट खर्च वार्षिक लक्ष्यको सात दशमलव ४९ प्रतिशत बराबर देखिएको छ। 

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार भदौ मसान्तसम्ममा सरकारले रू एक खर्ब ३१ अर्ब १४ करोड १३ लाख बराबर बजेट खर्च गरेको छ ।

सरकारले चालु आवका लागि कूल रू १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो। सोमध्ये चालु शीर्षकमा रू ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा हालसम्म सात दशमलव ६८ प्रतिशत अर्थात् रू ८७ अर्ब ६६ करोड ३५ लाख बराबर रहेको छ। 

पुँजीगत शीर्षकमा दुई दशमलव सात प्रतिशत मात्रै बजेट खर्च भएको छ। यो शीर्षकमा रू तीन खर्ब दुई अर्ब सात करोड बराबरको बजेट छुट्टाइएकोमा भदौ मसान्तसम्ममा रू आठ अर्ब १६ करोड ३९ लाख बराबर बजेट खर्च भएको छ।

वित्तीय व्यवस्थापन शीर्षकको बजेट खर्च वार्षिक लक्ष्यको ११ दशमलव ४९ प्रतिशत बराबर छ। मुख्यगरी सरकारी ऋण तिर्नका लागि प्रयोग हुने वित्तीय व्यवस्थापनतर्फको बजेट चालु आवका लागि रू तीन खर्ब सात अर्ब ४५ करोड बराबर छ। पछिल्लो दुई महिना अवधिमा वित्तीय व्यवस्थापन शीर्षकबाट रू ३५ अर्ब ५१ करोड ३९ लाख खर्च भएको छ।

यही अवधिको सरकारी राजस्व सङ्कलन वार्षिक लक्ष्यको १० दशमलव ४७ प्रतिशत बराबर छ। चालु आवका लागि सरकारले कूल रू १४ खर्ब ७२ अर्ब ४८ लाख बराबर बजेट छुट्टाउने लक्ष्य राखेकोमा भदौ मसान्तसम्ममा रू एक खर्ब ५४ अर्ब २३ करोड ५९ लाख बराबर राजस्व उठेको छ।

कर राजस्व वार्षिक लक्ष्यको नौ दशमलव आठ प्रतिशत अर्थात् रू एक खर्ब २७ अर्ब ९५ करोड ६७ लाख र गैर कर राजस्व लक्ष्यको ११ दशमलव २१ प्रतिशत अर्थात् रू १३ अर्ब १२ करोड बराबर उठेको छ। यो अवधिमा सरकारले वैदेशिक अनुदान भने लिएको देखिँदैन। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित भएको छ ।