दोहाः  सुन्दर भविष्यको सपना बुनेर साउदी आएको एक सातामै झापा हल्दिबारी गाउँपालिका–१ निवासी टीकाराम रिमालको निधन भएको छ ।

न्यु अल्फा एचआर सर्भिसेज प्रालि म्यानपावरमार्फत साउदी अरेबियाको मिराके गेटवे कफी लिमिटेड कम्पनीमा वेटरको काम गर्न आएका उनी आएलगत्तै बिरामी परेका थिए ।

कोरोनाको बुस्टर डोज लगाएपछि उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो । उपचारकै क्रममा उनको निधन भएको थियो ।

झापाली समाज साउदीका अध्यक्ष राजेन्द्र थापाले रियादस्थित नेपाली दूतावासका श्रम सहचारी देवेन्द्र कार्कीलाई उनको निधन’बारे जानकारी गराएपछि सम्बन्धित कम्पनीलाई जानकारी गराइएको थियो । १९ दिनभित्र सम्पूर्ण प्रक्रिया पूरा गरी शवलाई ४ असोजमा नेपाल पठाइएको थियो । शनिबार झापाको कन्काइमाईमा लगी उनको दाहसंस्कार गरिएको थियो ।

हल्दिबारी गाउँपालिका–१ का ओमनाथ रिमालका छोरा टीकारामको निधनसँगै उनको सपना पनि खेर गएको छ ।

उनको निधनपछि परिवारमा बज्रपात परेको छ । उनको परिवारले अहिले गायक प्रकाश सपूतको ‘बोल माया’ गीतको हरफ जबर्जस्ती स्वीकार्नु परिरहेको छ । बोलमाया गीतमा भनिएको छ, ‘धन ल्याउँछु भन्दै गएका थियौ उडेर आकाशमा, कस्तो भई गयौ कस्तो भई आयौ काठको बाकसमा ।’

अनेक सपना बोकेर दिनहुँ सयौं नेपाली बिदेसिने गरेका छन् । कतिको सपना आंशिक वा पूर्णरूपमा पूरा पनि हुन्छ । तर, कतिका सपना रातो बाकसमै बन्द भएर फिर्ता हुन्छन् । टीकाराम भने रातो बाकसमा फर्किन बाध्य भए ।

विदेशबाट आएका शवको वैदेशिक रोजगार बोर्डले निःशुल्क घरसम्म पु¥याउने काम गर्दै आएको छ । शवसँगै आएका अस्थु भने सम्बन्धित मृतकका आफन्तले विमानस्थलसम्म आएर लिनुपर्ने व्यवस्था गरिएको छ ।

युवाले विदेशमा कमाएर पठाएको विप्रेषणले देशको झन्डै एकतिहाइ अर्थतन्त्र धानेको भन्दै नेपाल सरकारले गर्वसाथ तथ्य सार्वजनिक गर्दै आएको छ । तर, कमाउन गएका युवाशक्ति विदेशमा कामकै क्रममा विभिन्न कारणले मृत्यु भएर बन्द बाकसमा फर्किंदा देश, समाज, उनीहरूका आफन्तमा भएको क्षति’बारे खै मूल्यांकन ?

गत आर्थिक वर्ष २०७९–८० मा रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख ७१ हजार ३२७ जना रहेकोमा १ हजार २०५ जनाको मृत्यु भएको थियो । आव २०६५–६६ देखि २०७९–८० सम्मको १५ वर्षमा १२ हजार १८९ जनाले ज्यान गुमाएका छन् ।

खाडी मुलुकमध्ये पनि गत आव २०७९–८० मा साउदी अरेबियामा मात्रै ३४६ जनाको मृत्यु भएको वैदेशिक रोजगार बोर्डको तथ्यांकले देखाएको छ । सोही आवमा मलेसियामा २८२ जना, कतारमा २२१ जना, यूएईमा १८७ र कुवेतमा ६८ जनाले ज्यान गुमाएका छन् ।

बेपत्तापछि भेटिएका सुवेदी नेपाल फर्किए
साउदी अरेबियामा बेपत्तापछि सकुशल भेटिएका झापा घर भएका घानेन्द्र सुवेदी नेपाल फर्किएका छन् । उनी कार्यरत अल अरिध कम्पनीले टिकटसहित २० वर्षको हिसाबकिताब गरी ४४ हजार साउदी रियल उपलब्ध गराएको थियो ।

उनी सो कम्पनीमा सन् २००३ अप्रिलदेखि कार्यरत थिए । अस्वस्थताका कारण काम गर्न असमर्थ भएका कारण कम्पनीले उनलाई विदा गरेको हो । फ्लाई दुबई एयरलाइन्सको उडानमार्फत उनी एउटै कम्पनीमा कार्यरत भाइ श्याम सुवेदीसँगै नेपाल फर्किएको झापाली समाज साउदी अरेबियाले जनाएको छ ।

समाजका अध्यक्ष राजेन्द्र थापा, सहसचिव राजु बराल र कम्पनीका सहकर्मीले विमानस्थलमा गई उनको बिदाइ गर्दै स्वास्थ्य लाभको कामना गरेका छन् । केही दिनअघि रियादबाट बेपत्ता भएका सुवेदीको समाजका अध्यक्ष थापा र सहकोषाध्यक्ष सुजन घिमिरको सक्रियतामा सकुशल उद्धार गरिएको थियो ।यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।