इटहरीः इटहरीमा शुरु भएको दोस्रो सभामुख कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको पहिलो दिन विभागीय टिमहरू हाबी भएका छन् ।

बिहीबार भएको उद्घाटन खेलमा नेपाल पुलिस क्लबले प्रदेश नम्बर ३ लाई सोझो सेटमा पराजित गरेको छ । यस्तै, दोस्रो खेलमा विभागीय टोली नेपाल आर्मीले कर्णाली प्रदेशलाई पनि ३–० को सोझो सेटमा नै हराउन सफल भएको थियो ।

यसैगरी, तेस्रो खेलमा एपीएफले प्रदेश ७ लाई ३–० कै सोझो सेटले पराजित गरेको छ । चौथो खेलमा गण्डकी प्रदेशले विजयी शुरुवात गरेको छ । प्रदेश नम्बर १ भलिबल टिमलाई २५–१९, २५–१९, १४–२५ र १५–१३ को सेटले पराजित गरेको छ । गत वर्ष पहिलो संस्करण रोल्पामा भएको प्रतियोगिताको दोस्रो संस्करण सुनसरीको इटहरीमा शुरु भएको हो ।

सुनसरी जिल्ला खेलकुद विकास समितिले पुस २३ गतेसम्म सञ्चालन गर्ने सो प्रतियोगितामा नेपालका ७ वटै प्रदेशका टिम र विभागीय टिम सशस्त्र प्रहरी, नेपाल आर्मी र नेपाल पुलिस क्लब गरी १० वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा विजेता हुने टिमले नगद ४ लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । यस्तै, उपविजेता टिमले नगद २ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र तथा तेस्रो हुने टिमले नगद १ लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनुरोध थापाले जनाए ।

यस्तै, विधागततर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २४ इन्चको एलइडी टिभी प्रदान गरिनेछ । यस्तै, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट सर्भरलाई जनही नगद ५ हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को संरक्षणमा आयोजना भएको प्रतियोगिताको व्यवस्थापक तथा प्रवद्र्धक सुनसरी जिल्ला भलिबल सङ्घ रहेको छ । त्यस्तै, सहयोगी संस्थाको रूपमा इटहरी उपमहानगरपालिका, पूर्वाञ्चल भलिबल सङ्घ र प्रगति समाज सेवा क्लब इटहरी रहेका छन् ।

volly ball (1)