हेटौडाः नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको हेटौंडा ब्रान्च म्यानेजर त्रिशुली नदीमा हामफाल्दा बेपत्ता भएका छन् । 

हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ चौकीटोल बस्ने ३८ वर्षीय निराजन देवकोटा त्रिशुली नदीमा हामफाल्दा बेपत्ता भएका हुन् । उनी नेपाल इन्भेष्टमेण्ट मेगा बैंक हेटौंडा ब्रान्चका म्यानेजरका रुपमा कार्यरत रहेका छन् ।

पारिवारिका स्रोतका अनुसार उनी हिजो सोमबार बिहानै काठमाडौंस्थित नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको हेड अफिसमा जानको लागि भन्दै बैंकका कर्मचारीसहित मोटरसाइकलमा काठमाडौं लागेका थिए । ‘हिजो बिहानै निराजन र केही बैंकका कर्मचारीहरुसहित काठमाडौं लागेका थिए । हेड अफिसमा केही काम रहेको र बैंकले पनि बोलाएको भन्दै मोटरसाइकलमा गएका थिए । तर हिजो साँझ नै निराजन त्रिशुली नदिमा हाम फालेर बेपत्ता भएको दुस्खद् खबर आयो,’ उनका एक आफन्तले भने ।

निराजनका आफन्तका अनुसार उनी काठमाडौं पुगेर साँझ धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ घाटवेशीस्थित नयाँपुलबाट हिजो साँझ साँडे ६ बजेको समयमा त्रिशुली नदिमा हामफालेका थिए । उनी आफ्नो बा.प्र.०३ ००५प ४१७६ नम्बरको मोटरसाइकल र चप्पल पुलमा छाडेर नदीमा हामफालेको प्रत्यक्षदर्शीले देखेर प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले त्रिशुलीमा हामफालेका निराजनको खोजी गरिरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।