काठमाडौँः  पशु सेवा विभागलगायत अन्य सरोकारवालाले विभिन्न कार्यक्रम गरी बुधबार विश्व पशु दिवस मनाएका छन् । सन् १९२९ देखि प्रत्येक अक्टुबर ४ का दिन यो दिवस मनाउन सुरु गरिएको हो । 

पशुको कल्याण र यसको संरक्षण गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको छ । पशु कल्याणका लागि विभागले विभिन्न निर्देशन तथा मापदण्ड बनाएको छ । 

पशु सेवा विभागले पशुलाई पैदल ढुवानी गर्दा आठ घण्टाभन्दा बढी हिँडाउन नमिल्ने मापदण्ड तोकेको छ तर रातभर २४ घण्टासम्म पैदल हिँडाएर पशु ढुवानी भएको पनि पाइएको विभागले जनाएको छ । 

मापदण्ड अनुसार गाई र भैँसीलाई २५ किलोमिटरभन्दा बढी हिँडाउन पाइने छैन भने भेडा र बाख्रालाई ३०, सुँगुर र बङ्गुरलाई १२ तथा पाडापाडी, बाच्छाबाच्छी र पाठापाठीलाई १५ किलोमिटरभन्दा बढी हिँडाउन नपाइने मापदण्ड रहेको विभागका उपमहानिर्देशक प्रेरणा सेढाइँ भट्टराईले बताइन । उनका अनुसार शारीरिक बनोट फरक फरक हुने विभिन्न जात, उमेर, लिङ्गका पशुलाई एउटै गाडीमा राखेर ढुवानी गर्न नहुने पशु ढुवानी मापदण्डमै उल्लेख छ । विभागले अनुगमन गर्दा एउटै गाडीमा विभिन्न जातका पशु, फरक फरक उमेर तथा लिङ्गका पशु राखेर ढुवानी गरेको भेटिएको उनले बताइन। 

पशु ढुवानी गर्दा गाडीभित्र पर्याप्त स्थान उपलब्ध गराउनुपर्ने मापदण्डमा उल्लेख छ । गाई र भैँसीका लागि ०।८४ देखि १।२७ वर्गमिटर ठाउँ रहनुपर्ने अनिवार्य गरेको तर गाडीमा ल्याउँदा गाईबस्तुलाई कोचेर राख्ने गरिएको पनि विभागले जनाएको छ । 

पाडा र बाच्छाका लागि ०।३ देखि ०।४ वर्गमिटर, सुँगुर र बङ्गुरका लागि ०।३ देखि ०।४ वर्गमिटर, भेडाबाख्राका लागि ०।२ देखि ०।३ वर्गमिटर ठाउँ राख्नुपर्ने मापदण्डमा उल्लेख छ तर चाडपर्वको समयमा गाडीको छतमा, डिकीमा राखेर खसीबोका ढुवानी गरेको पाइन्छ । सरकारले त्यसमा पूर्ण रूपमा बन्देज लगाएको छ तैपनि व्यापारीले लुकाएर ल्याउने गरेको पाइन्छ । 

मापदण्डविपरीत काम गरेका ढुवानीकर्तालाई पाँच हजार जरिबाना गर्ने प्रावधान राखिएको छ । व्यापारीहरू पाँच हजार जरिबाना तिर्न तयार हुने तर ढुवानीमा लापरबाही बन्द नगर्ने प्रवृत्तिका पाइएको उपमहानिर्देशक भट्टराईले बताइन। पाँच हजार जरिबाना एकदमै न्यून भएकाले कडा कारबाही वा जरिबाना नगरेसम्म जथाभाबी ढुवानीलाई नियन्त्रण गर्न समस्या हुने उनको भनाइ छ । 

मुलुकी अपराधसंहिता ऐन २०७४ अनुसार गाई मारेमा तीन वर्ष कैदको व्यवस्था गरेको छ । त्यस्तै घाइते वा अङ्गभङ्ग भएमा छ महिना कैद वा ५० हजार जरिबानाको व्यवस्था सो ऐनमा गरिएको छ । त्यसै गरी पशुपन्छी राख्दा लापरबाही गरेमा एक वर्ष कैद वा १० हजार जरिबानाको व्यवस्था गरिएको छ । 

यो अनुसार कारबाही तथा जरिबाना गरिदिए हुन्थ्यो तर पशु ढुवानीसम्बन्धी छुट्टै ऐन नभएका कारण कारबाहीको अवस्था कमजोर रहेको विभागले जनाएको छ । पशु कल्याण ऐन निर्माणको क्रममा रहेको छ । सो ऐन निर्माण भएपछि धेरै हदसम्म जथाभाबी पशु ढुवानी नियन्त्रण हुने विभागले दाबी गरेको छ ।