काठमाडौँः कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले दुध किसानको बक्यौता रकम एक हप्ताभित्र भुक्तानी गर्न दुध विकास संस्थान (डिडिसी) तथा निजी डेरी उद्योगीलाई निर्देशन दिएका छन । 

डेरी उद्योगीले दुध किसानलाई भुक्तानी गर्न करिब छ अर्ब रुपियाँ बाँकी छ । ती सबै रकम दसैँअघि नै भुक्तानी गर्न मन्त्री भुसालले निर्देशन दिएको राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा.राजेन्द्र यादवले बताए। बोर्डले आयोजना गरेको कार्यक्रममा त्यस्तो निर्देशन दिएका हुन । मन्त्री भुसालले दुध तथा दुग्ध पदार्थको अवैध आयात रोक्न नाकामा अनुगमन कडा गरिने र मिल्क होलिडे हुन नदिने गरी किसान र उद्योगीका लागि आवश्यक वातावरण बनाउने बताए । 

डिडिसीका महाप्रबन्धक सञ्जीव झाले दुध विकास संस्थान डिडिसीसँग हाल पर्याप्त दुध बिक्री नहुँदा करिब ६० करोड रुपियाँ बराबरको धुलो दुध र मखन मौज्दात रहेको बताए । 

देशैभरि डिडिसीलगायत निजी क्षेत्रका डेरी उद्योगी र दुग्ध व्यवसायीसँग झन्डै नौ अर्ब रुपियाँ बराबरको दुध तथा दुग्धजन्य पदार्थ बिक्री नभएर मौज्दात रहेको उद्योगीले मन्त्री भुसाललाई जानकारी गराएका छन् ।  

त्यसपछि मन्त्री भुसालले मौज्दात रहेको वस्तु हेरेर कृषि विकास बैङ्क तथा अर्थ मन्त्रालयसँग समन्वय गरेर सस्तो ऋण दिलाउन पहल गर्ने कुरा राख्नुभएको बोर्डका कार्यकारी निर्देशक यादवले बताए । साथै राष्ट्रिय दुग्ध विकास बोर्ड ऐन २०४८ लाई संशोधन गर्न निर्देशक यादवको संयोजकत्वमा एक समिति गठन गरेको छ । त्यस्तै दुध नीति २०७८ बारेमा कार्ययोजनाका लागि अर्को समिति पनि गठन गरिएको बोर्डले जनाएको छ ।