काठमाडौँः सरकारले प्लेस्टाईन हमास समूहको आक्रमणमा परि इजरायलमा मृत्यु भएका नेपालीहरूप्रति सम्मान व्यक्त गर्न भोलि असोज २३ गते राष्ट्रिय शोकको घोषणा गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले इजरायलमा भएको अकल्पनीय घटनामा दिवङ्गत नेपालीहरूप्रति सम्मानका लागि भोलि मङ्गलवार राष्ट्रिय शोकको घोषणा गर्दै देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन ।

यस्तै सरकारले हमासको आक्रमणमा परी ज्यान गुमाएकाहरुको परिवारलाई १०–१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको पनि मन्त्री शर्माले जानकारी दिइन । 

WhatsApp Image 2023-10-09 at 16.52.33

मन्त्रिपरिषद् बैठकले इजरायलका द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपालीहरू जो देश फर्किन चाहन्छन् तीनलाई नेपाल यथाशीघ्र ल्याउने गरी काम गर्ने र सो अनुसार सम्वद्ध निकायहरूलाई कामका लागि निर्देशन समेत दिइएको मन्त्री शर्माले बताइन  ।


यस्तै परराष्ट्र मन्त्रालयले इजरायल सरकारसँग समन्वय गरी मृतक नेपालीहरूको शव यथाशीघ्र स्वेदश ल्याउन पहल गर्ने र नेपाल फर्किन चाहने नेपालीहरूलाई नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स चार्टर्ड गरी ल्याउन प्रबन्ध मिलाउन इजरायलस्थित नेपाली दूतावासले विवरण सङ्कलन गरी परराष्ट्र मन्त्रालयसँग समन्वय गरी काम गर्ने निर्णय पनि भएको मन्त्री शर्माले जानकारी दिइन ।