काठमाडौंः विश्वका विकसित मुलुक पनि इजरायलमा फसेका आफ् ना नागरिकलाई उद्धार गर्न अलमलिरहेका बेला नेपालले भने जनताको मन जित्नेगरी २ सय ५४ जना नेपालीको उद्धार गरी नेपाल ल्याएको छ । जर्मनी, बेलायत, फ्रान्स, सिंगापुर, फिलिपिन्सलगायतका मुलुकले ठोस निर्णय गर्न नसकेकै बेला नेपालले पहिलो लट उद्धार गरेको हो ।

सिधा हवाई सेवा भएका मुलुक पनि कूटनीतिक तवरले उद्धार गर्न ढिला भइरहेकामा नेपाल वायु सेवा निगममार्फत सरकारले दुबई हुँदै इजरायल पुगेर उद्धार गरेर शुक्रबार बिहान ३ बजे काठमाडौं ल्याइपु¥याएको हो ।

बिहीबार इजरायलको तेलअभिभबाट नेपाली लिएर उडेको नेपाल एयरलाइन्सको विमान बिहान ३ बजे त्रिभुवन विमानस्थल अवतरण गरेको हो । नेपालीलाई उद्धार गर्नका लागि परराष्ट्रमन्त्री एनपी साउद तेलअभिभ पुगेका थिए । विमानस्थलमा आइपुगेपछि उद्धार भएर आएका र आफन्तले सरकारको खुलेर प्रशंसा गरे ।

सधैजसो सरकारलाई गाली गरेका पोस्टबाट भरिने सामाजिक सञ्जाल बिहीबारदेखि नै प्रशंसाका पोस्टले भरिन थालेका थिए । परराष्ट्रमन्त्री एनपी साउद विमानमा नमस्कार गर्दै आइरहेको तस्बिर सबैभन्दा बढी सेयर भयो । शुक्रबार बिहान विमानस्थलमा हर्ष र खुसीका आँसु निरन्तर बगिरहेका थिए । प्यालेस्टाइनको हमास समूहले इजरायलमाथि आक्रमण गरेपछि सरकारले त्यहाँ रहेका नेपालीहरूलाई स्वदेश ल्याउन बिहीबार नेपाल एयरलाइन्सको जहाज पठाएको थियो ।

नेपालीहरूलाई लिएर काठमाडौं आएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै परराष्ट्रमन्त्री साउदले नेपालीहरूलाई सुरक्षित राख्न इजरायल सरकार प्रतिबद्ध देखिएको र इजरायलका विमानमन्त्री आफै विमानस्थल आएर बिदाइ गरेको जानकारी दिए ।

उद्धारपछि बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्दै परराष्ट्रमन्त्री साउदले इजरायलबाट नेपाल फर्कन चाहना राखेका ५ सय ३ जनामध्ये २ सय ५४ जनालाई नेपाल ल्याइएको र अरूलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिए । परराष्ट्र मन्त्रालयका अनुसार नेपाल फर्कन चाहने नेपालीहरूलाई अनलाइनमार्फत आफ्नो विवरण प्रविष्ट गर्न अनुरोध गरेबमोजिम ५ सय ५७ जनाले आफ् नो विवरण उपलब्ध गराएका छन् ।

यसमध्ये ५ सय ३ जनाले नेपाल फर्कन अनुरोध गरेकामा २ सय ५४ जना स्वदेश फर्किएका छन् । परराष्ट्रमन्त्री साउदले जोखिमपूर्ण ठाउँबाट स्थानान्तरण गर्न आवेदन दिएका ५४ जनालाई सुरक्षित ठाउँमा सारिएको पनि जानकारी दिए । हमासको आक्रमणमा परी १० नेपालीले ज्यान गुमाउनुका साथै चार जना नेपाली नागरिक घाइते भएकामा एक जना उपचारपछि पहिलो लटमा स्वदेश फर्किएका छन् ।

एक जना अस्पतालबाट उपचारपछि डिस्चार्ज भएका र बाँकी दुई जना स्थानीय अस्पतालमा उपचाररत रहेका मन्त्री साउदले जानकारी दिए । आक्रमणमा परी सम्पर्कविहीन भएका विपीन जोशीको खोजी निरन्तर जारी रहेको र उनलाई हमासले अपहरण गरेको अनुमान गरिएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएकामध्ये मृत्यु भएका १० जना नेपाली विद्यार्थीको शव नेपाल ल्याउनका लागि प्रक्रियागत कार्य भइरहेको पनि मन्त्री साउदले जानकारी दिए । मन्त्री साउदले इजरायलमा रहेका नेपालीहरूको उद्धारका लागि आवश्यकतानुसार विमान पठाइने बताए । मन्त्रिपरिषद्ले व्यावसायिक फ्लाइटबाट आउनेहरूको टिकट खर्च बेहोर्ने र चार्टर विमान पनि पठाउने निर्णय गरेको स्पष्ट पारे ।

नेपाल वायु सेवा निगमको नाइन एन–एएलजेड एयरबस–३३० विमानबाट स्वदेश फर्काइएपछि सरकार र नेपाल एयरलाइन्सप्रति जनताले आभार प्रकट गरेका छन् । इजरायल–गाजाको सीमावर्ती क्षेत्रका कृषि फार्ममा रहेका सबै ५५ जना नेपाली विद्यार्थीलाई इजरायली सुरक्षा संयन्त्रसमेतको सहयोगमा उद्धार गरी थप सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको र उत्तरी सिमाना आसपासमा उद्धारको पर्खाइमा रहेका ७२ जना नेपाली विद्यार्थीलाई समेत सुरक्षित ठाउँमा सारिएको नेपाली राजदूतावासले जनाएको छ ।

नेपालबाट सुदूरपश्चिम विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र कृषि विश्वविद्यालयबाट इजरायलसँग सरकारले सम्झौता गरेको ‘लर्न एन्ड अर्न’ कार्यक्रममा सहभागी हुन त्यहाँ पुगेका कृषि विज्ञान अध्ययनरत २ सय ६५ जनाभन्दा बढी नेपाली विद्यार्थी सो क्षेत्रमा फसेका थिए ।

विमानको सीमित सिट क्षमताका कारण सबैलाई एकैपटक नेपाल ल्याउन नसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । आउन चाहनेहरूलाई चाँडै नै ल्याइने पनि जनाइएको छ ।यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।