काठमाडौंः दाइजोको निहुँमा आरती साहको हत्या गरेको आरोपसहित घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै काठमाडौँको माइतीघरमा न्यायको माग गर्दै १ सय २१ दिनदेखि धर्नामा बसेका आरती साहका आमा, बुबा र भाइलाई प्रहरीले शनिवार गिरफ्तार गरेको छ । प्रहरीले आरतीका आमा निर्मला देवी साह, बुबा विनोदप्रसाद साह र भाइ प्रेम साहलाई गिरफ्तार गरेर प्रहरी वृत्त, सिंहदरबारमा राखेको इन्सेक प्रतिनिधि विमल पौडेलले बताए  ।

माइतीले ०८० जेठ ७ गते पतिको घरमा झुण्डिएको अवस्थामा फेला परेकी आरतीको हत्या संकास्पद भएको र घटनामा संलग्न उनकी पति मोतीबाबु साह र ससुरा मदनमोहन साह ब्याहुत सुडी लगायतसँगको मिलेमतोमा प्रहरीले हत्यालाई आत्महत्यामा परिणत गर्नलाई भूमिका खेलेको भन्दै जिल्ला प्रहरी कार्यालय, धनुषाका एसपी विश्वराज खड्का र डिएसपी वेदप्रकाश गौतमको तस्वीर सहितको फ्लेक्स राखेर माइतिघरमा रिले अनसन बस्दै आएका थिए ।

जिल्ला प्रहरी परिसर, काठमाडौँमा प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार आरतीको मृत्युको सन्दर्भमा अनावश्यक रूपमा जोडेर आरतीका आफन्तले फ्लेक्स राखेर आफूहरूको बदनामी गरेको भन्दै एसपी खड्का र डिएसपी गौतमले गृह मन्त्रालयमा निवेदन दिएका थिए । एसएसपी खत्रीले धर्नामा बस्दै आएका आरतीका माइतीले परिवारले राखेको एसपी खड्काको तस्वीर सहितको फ्लेक्स हटाउन जिल्ला प्रशासन कार्यालयमार्फत आफूहरूलाई आदेश आएको र उक्त फ्लेक्स हटाउन पुगेको प्रहरीलाई अवरोध गरेपछि आरतीका आमा, बुबा र भाइलाई नियन्त्रणमा लिएको बताए ।

जनकपुरधाम उपमहानगरपालिका ९, थापाचोक निवासी २३ वर्षीया आरती साह ०८० जेठ ७ गते पतिको घरमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन । आरतीको दाइजोको निहुँमा कुटपिट गरेर हत्या गरिएको भन्दै जेठ ८ गते जिल्ला प्रहरी कार्यालय, धनुषामा आरतीका पति मोतीबाबु साह र ससुरा मदनमोहन ब्याहुत सुडीविरुद्ध आरतीका बुबाले आत्महत्या दुरुत्साहनसँगै कर्तव्य ज्यानमा उजुरी दिएका थिए ।

जिल्ला अदालत, धनुषाका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले आरतीका पति मोतीबाबु र ससुरा मदनमोहनलाई पुर्पक्षको लागि थुनामा पठाएको थियो । त्यसविरुद्ध आरोपिहरू उच्च अदालत पुगेका थिए । उक्त मुद्दामा ०८० असोज १८ गते उच्च अदालतका मुख्य न्यायाधीश शारङ्गा सुवेदी र न्यायाधीश किरण पोखरेलको संयुक्त इजालसले आरतीका माइती पक्षले दिएको जाहेरीमा प्रमाण नपुगेको भन्दै उनीहरूलाई साधारण तारेखमा छोड्न आदेश दिएको थियो ।

हत्याका आरोपितलाई अदालतले साधारण तारेखमा छाडेको भन्दै आरतीका माइती पक्ष न्यायलयसँग समेत असन्तुष्ट रहेका छन् ।