काठमाडौंः  नेपाली कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा हमास समूहद्वारा मारिएका पाँचजना नेपालीको शवको प्रमाणीकरणको काम सुरु भएको र सकिने बित्तिकै नेपाल ल्याइने बताएका छन । 

सुदूरपश्चिम पत्रकार समाजद्वारा सोमबार आयोजित दसैँ, तिहार, छठ तथा नेपाल स‌‌वतको अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा उनले सो कुरा बताएका हुन । इजरायल घटनामा सबैभन्दा बढी क्षति सुदूरपश्चिमलाई भएको चर्चा गर्दै नेपालीको उद्धार तथा अन्य काममा सहयोग गर्ने सबैप्रति उहाँले धन्यवाद व्यक्त गरे। 

हमास समूहले बन्धक बनाइ बेपत्ता पारेको भनिएको विपिन जोशीको पहिचानका लागि सरकारको तर्फबाट सबै पहल भएको र अन्तर्राष्ट्रिय मानवअधिकारवादी सङ्घ संस्थालाई समेत त्यसका लागि आग्रह गरिएको उनले प्रष्ट पारे । त्यहाँ रहेका नेपाली विद्यार्थी सरकारको सम्पर्कमा रहेको र थप विद्यार्थी पनि अनलाइनमार्फत सम्पर्कमा आइरहेकाले आवश्यक परेमा जतिसुकैबेला नेपाल ल्याउन सरकार तयार रहेको उनले बताए। 

सो अवसरमा मन्त्री साउदले सुदूरपश्चिम प्रदेश विकासको दृष्टिकोणले अझै पछाडि रहेको चर्चा गर्नुहुँदै सबैको सामूहिक प्रयास र पहलले त्यहाँको विकास हुने बताए । सुदूरपश्चिम प्रदेश रिसोर्सको हिसाबले सबैभन्दा धनी भए पनि त्यसको सही सदुपयोग गर्न नसकिएको उनले चर्चा गरे । विकासको काम क्रमिक रूपमा भइरहेकाले त्यहाँका राजनीतिक दल, सुदूरपश्चिमवासी, पत्रकार, तीनै तहका सरकारको सामूहिक पहलले सुदूरपश्चिम समृद्ध बनाउन सकिने उनले बताए।

काठमाडौँलाई केन्द्र मान्दा सुदूरपश्चिम सबैभन्दा दुर्गम भए पनि देशको हिसाबले सुदूरपश्चिम टाढा नरहेको उनले चर्चा गरे । त्यहाँको समग्र विकासका लागि धार्मिक पर्यटकीय क्षेत्रको यथोचित विकास गर्न सके वर्षमा दसौँ लाख धार्मिक पर्यटक सुदूरपश्चिममा भित्र्याउन सकिने उनले बताए । 

नेकपा (एमाले) का युवा नेता बचनबहादुर सिंहले सुदूरपश्चिमको समृद्धिका लागि सबै राजनीतिक दल, नेता, सरकार, पत्रकार तथा मिडिया र सुदूरपश्चिमवासीको सामूहिक प्रयासको खाँचो रहेको बताए। त्यहाँको मुद्दा पहिचान र राष्ट्रिय एजेण्डामा पार्न पनि पत्रकारले भूमिका खेल्न सक्ने उनले बताए । 

नेकपा (माओवादी केन्द्र) का संसदीय दलका सचेतक रुपा सोसी चौधरीले सुदूरपश्चिममा अथाह सम्भावना भए पनि विकास गर्न नसकिएकाले सबैले त्यहाँको विकासका लागि गम्भीर बन्नुपर्ने बताइन । दसैँमा घर जाने सुदूरपश्चिमवासीलाई चर्को भाडा कायम गरिएकाले पीडा भएको भन्दै त्यसमा ध्यान दिन उनले सरकारसँग आग्रह गरिन । 

गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीले सुदूरपश्चिम विकासको विषय अझै चाहे जति मिडियाले उठाउन नसकेको बताए । सुदूरपश्चिमबाट काठमाडौँ आएर सयौँ पत्रकार विभिन्न मिडियामा काम गरिरहेको भए पनि पत्रकारको क्षमता अभिवृद्धिमा सरकार तथा सरोकारवाला संस्थाले ध्यान दिनुपर्ने बताए । सुदूरपश्चिम हाम्रो साझा पहिचान भएकाले त्यसको विकासका लागि पनि सबैको हातेमालो आवश्यक रहेको उनको भनाइ छ । 

समाजका अध्यक्ष एम। बमको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा वरिष्ठ पत्रकार प्रशान्त अर्याल, पत्रकार गोविन्द खड्का, लक्की चौधरी, लक्ष्मी बलायरलगायतले शुभकामना मन्तव्य राखेका थिए  ।