इटहरीः सुनसरीको इटहरीमा बिहिबारदेखि शुरु भएको दोस्रो सभामुख कप राष्ट्रिय भलिबलमा शुक्रबार पहिलो चरणका सम्पूर्ण खेल सकिएका छन् ।
शुक्रबार बिहान भएका खेलमा एपीएफ र नेपाल पुलिस विजयी भएका छन् । पहिलो खेलमा एपीएफले प्रदेश ५ लाई ३–० को सोझो सेटले पराजित गरेको छ । एपिएफले २६–२४, २६–२४ र २५–१५ को सोझो सेट निकाल्न सफल भयो । यस्तै, दोस्रो खेलमा नेपाल पुलिसले प्रदेश २ माथि सहज जीत निकाल्यो । सो खेलमा पुलिस २५–९, २५–१८ र २५–७ को फराकिलो जित निकाल्न सफल भयो ।
तेस्रो खेलमा प्रदेश ५ ले प्रदेश ७ माथि ३–० को सोझो सेटको जीत निकाल्यो । सो खेलमा प्रदेश ५ ले प्रदेश ७ लाई २५–१६, २५–१७ र २५–१९ ले हराउँदै सहज जीत निकालेको हो । अन्तिम खेलमा प्रदेश ३ ले प्रदेश २ लाई ३–० को सोझो सेटले पराजित गरेको छ ।
सो खेलमा प्रदेश ३ ले प्रदेश २ लाइ २५–२१, २९–२७ र २७–२५ को सेटले पराजित गरेको हो । प्रतियोगिताअन्तर्गत शनिबार क्वाटरफाइनल खेल सम्पन्न गरिने प्रचारप्रसार संयोजक विक्रम थापाले जानकारी दिए । शनिबार हुने पहिलो क्वाटरफाइनलमा नेपाल पुलिस क्लब र प्रदेश नम्बर १ बीच प्रतिष्पर्धा हुने भएको छ । दोस्रो क्वाटरफाइनलमा एपीएफ र कर्णाली प्रदेशबीच प्रतिष्पर्धा हुने आयोजक सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनुरोध थापाले जानकारी दिए ।
शनिबार नै हुने तेस्रो खेलमा प्रदेश नम्बर ३ र प्रदेश ४ बीच प्रतिष्पर्धा हुँदा अन्तिम क्वाटरफाइनलमा नेपाल आर्मी र प्रदेश नम्बर ५ बीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ । विजेताले ४ लाख र उपविजेताले २ लाख नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।