धादिङः आज बिहान धादिङको ज्वालामुखी गाँउपालिका वडा नम्बर ५ खरी केन्द्र विन्दु भएको गएको भुकम्पका कारण ४ जनाको घर भत्किएका छन । 

आज बिहान ७ बजेर ३९ मिनेटमा खरी केन्द्रबिन्दु भएर ६ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको थियो । सो वडाको खुमलटारमा रहेको बुढीगण्डकी जलविद्युत आयोजनाको डुवान क्षेत्रमा रहेका ४ घर भत्किएको हाम्रा सहकर्मी राजेन्द्र भट्टले जानकारी दिएका छन् । 

उनका अनुसार सो क्षेत्रका कांग्रेस कुमाल, मिरा सिंखडा, ठाकुर भुजेल र राजु कुमालको घर भत्किएका हुन । बुढीगण्डकी जलविद्युत आयोजनाको डुवान क्षेत्रमा निर्माण भएका घरहरु ०७२ को भुकम्पले पनि क्षति पुर्याएको थियो । पुराना घर भएका उनिहरुको घरमा क्षति भएको हो । 

भुकम्पपछि खरी क्षेत्रमा पहिरो गएकाले त्यसको जोखिममा स्थानीय भोजबहादुर सिँखडा र अन्जन सिँखडाको घर परेको छ । 

भुकम्प पछि पनि बारम्बार पराकम्पन गईरहेकाले स्थानीय त्रसिद भएका छन् । स्थानीयहरुले घर भित्रका सबै सामान बाहिर निकालेर बसेका छन् । दशै  लागेकाले घर बाहिर नै स्थानीयहरुले ग्यास चुल्हो जोडेर खाना पकाईरहेको सहकर्मी भट्टले जानकारी दिए । भुकम्प पछि स्थानीयहरुले वडाअध्यक्षसँग समन्वय गरि क्षतिको बारेमा जानकारी गराएका छन् ।