इनरुवाः सुनसरी सदरमुकाम इनरुवामा शुक्रबारदेखि मनमोहन स्मृति कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले सो प्रतियोगिताको उद्घाटन गरे ।
इनरुवा खेलमैदानमा प्रतियोगिता सञ्चालनका लागि निर्माण गरिएको क्रिकेट पिचमा इनरुवाका नगरप्रमुख राजन मेहताको बलिङमा ब्याटिङ गर्दै बिष्टले प्रतियोगिता उद्घाटन गरेका थिए ।
मोफसलकै ठूलो मानिएको राष्ट्रियस्तरको एक दिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटनसत्रमा नेपाली क्रिकेटका राष्ट्रिय प्रशिक्षक जगतबहादुर टमाटा, खेदकुद परिषद्का केन्द्रीय सदस्य शम्भु आचार्य, सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती, प्रहरी प्रमुख राजन अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
क्रिकेट प्रतियोगितालाई इनरुवा नगरपालिका र शान्तिदीप नेपालले संयुक्त रूपमा आयोजना गरेको बताइएको छ । प्रतियोगिताअन्तर्गत पहिलो खेल आज नेपाल पुलिस क्लब र प्रदेश नं २ बीच हुँदैछ ।
प्रतियोगिताका विजेताले नगद रु ४ लाख १ हजारसहित शिल्ड र उपविजेता टोलीले २ लाख १ हजार नगद प्राप्त गर्ने बताइएको छ । त्यस्तै सेमिफाइनल पुग्ने २ टिमले नगद २५ हजारका दरले पुरस्कार हात पार्नेछन् ।
प्रतियोगितामा ३ विभागीयसहित सातै प्रदेश, आयोजक इनरुवा र भारतको सुपौल क्रिकेट क्लबले प्रतिस्पर्धा गर्ने आयोजक संस्था शान्तिदीप नेपालका सचिव सुनिल चौलागाईंले बताए ।