पाँचथरः पाँचथरको फिदिममा हिजोदेखि शुरु भएको १० औँ रुस्लान फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगितामा झापा ११ विजयी भएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताए । फिदिम माविको खेल मैदानको स्तरोन्नतिका लागि प्रदेश सरकारले रु ५० लाख सहयोग गर्ने पनि उनले बताए ।

प्रतियोगिताको उद्घाटन खेलमा झापा ११ ले कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । झापालाई जिताउन खेलको २६ औँ मिनेटमा देवेन्द्र तामाङले, ४९औँ मिनेटमा राजकुमार कन्दङवा र ५७ औँ मिनेटमा कर्ण लिम्बूले गोल गरेका थिए ।

ताप्लेजुङको तर्फबाट छैटौं मिनेटमा अनुप सेन्दाङले सान्त्वना गोल गरेका थिए । पुस ३० गतेसम्म हुने प्रतियोगितामा १० वटा टिमको सहभागिता रहेको आयोजक फिदिम स्पोर्टिङ क्लबले जनाएको छ ।

झापा ११, कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ, आयोजक फिदिम स्पोर्टिङ क्लब, मोरङ ११ ले प्रतियोगितामा भाग लिएका छन् । त्यस्तै, त्रिभुवन आर्मी क्लब काठमाडौँ, एपिएफ क्लब काठमाडौँ, बिग्रेड ब्वाइज काठमाडौँ, सरस्वती क्लब काठमाडौँ, सुनसरी ११ र रोयल एफसी दार्जिलिङको सहभागिता रहेको आयोजक क्लबका अध्यक्ष विमल श्रेष्ठले बताए । प्रतियोगिताको विजेताले ४ लाख रुपैयाँ र उपविजेताले २ लाख रुपैयाँसहित मेडल र ट्रफी हात पार्ने अयोजकले जनाएको छ ।