इटहरीः तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको लागि विभिन्न क्लबले खेलाडी अनुबन्ध गरेका छन् ।
माघ २६ गतेदेखि फागुन ११ सम्म धनगढीमा आयोजना हुने प्रतियोगिताका लागि छ वटा क्लबले अक्सनबाट शनिबार ७२ जना खेलाडी र ट्यालेन्ट हन्टबाट ६ जना खेलाडी छनोट गरेका छन् ।
अक्सनमा कुल १ सय ८६ जना खेलाडी सहभागी हुँदा प्रत्येक टोलीले ११ जना खेलाडी टोलीमा लिएका छन् । खेलाडी खरिद गर्न टोलीले अधिकतम १२ लाख रुपैयाँ खर्च गर्न पाउने नियम थियो । १२ लाख रुपैयाँभन्दा बढी रकम खर्चिए २५ प्रतिशत जरिवाना तिर्नुपर्ने व्यवस्था थियो ।
ट्यालेन्ट हन्टबाट आएका १२ जना खेलाडीमध्ये ६ जनालाई ६ वटा टोलीले १–१ जना लिएका छन् ।
विराटनगर किंग्सले कसलाई अनुबन्ध गर्याे
करन केसी मार्की प्लेयर रहेको विराटनगर किंग्सले कुशल भुर्तेललाई १ लाख ६० हजार रुपैयाँमा अनुबन्ध गरेको छ । त्यस्तै, पृथु बास्कोटालाई १ लाख २० हजार, अर्जुन अधिकारीलाई ३० हजार र किशोर महतोलाई १ लाख रुपैयाँमा अनुबन्ध गरेको छ ।
त्यस्तै, संसाद शेखलाई ७५ हजार, राजेश पुलामीलाई ७५ हजार, आसिफ शेखलाई १ लाख ८० हजारमा खरिद गरेको छ । हरिशंकर शाहलाई ९० हजार, सुसन भारीलाई १ लाख, अमृत गुरुङलाई ३० हजार, तृतराज दासलाई ३० हजार र सुवास ऐरलाई ३० हजारमा अनुबन्ध गरेको जनाएको छ ।
विराटनगर किंग्सले सबैभन्दा कम खर्च गरेको छ । करन केसी रणनीतिक खेलाडी रहेको विराटनगर किंग्सले ९ लाख ९० हजार खर्च गरेको छ । दीपेन्द्र ऐरी रणनीतिक खेलाडी रहेको सिवाइसी अत्तरियाले सबैभन्दा कम ९ लाख रुपैयाँमात्रै खर्च गरेको छ ।
अक्सनमा सहभागी छवटा टोलीमध्ये खेलाडी खरिदका लागि वसन्त रेग्मी रणनीतिक खेलाडी रहेको रुपन्देही च्यालेञ्जर्सले सबैभन्दा धेरै १४ लाख ४५ हजार खर्च गरेको थियो । सोमपाल कामी रणनीतिक खेलाडी रहेको धनगढी स्टार्सले रु १२ लाख २० हजार, शरद भेषवाकर रणनीतिक खेलाडी रहेको महेन्द्रनगर युनाइटेडले रु ११ लाख ५० हजार र ज्ञानेन्द्र मल्ल रणनीतिक खेलाडी रहेको काठमाडौँ गोल्डेन्सले रु १० लाख ९५ हजार खर्च गरेको थियो ।
अक्सनमा विनोद भण्डारी, ललित नारायण राजवंशी, ललित सिंह भण्डारी, भीम सार्की, पवन सर्राफ र आरिफ शेख अधिकतम २ लाख ५० हजारमा अनुबन्धित भएका थिए ।
टी–२० आधारमा सञ्चालन हुने प्रतियोगितामा १९ खेल हुनेछन् । लिग चरणमा प्रत्येक टोलीले एक अर्को टोलीसँग प्रतिस्पर्धा गर्नेछन् ।