काठमाडौंः रसियन फोर्समा भर्ती भएका अर्का एक जना नेपाली युक्रेनी सेनाको कब्जामा परेको भिडियो सार्वजनिक भएको छ । कब्जामा रहेका उनी काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–६ ढकालथोकका सिद्धार्थ ढकाल हुन् ।

करिब दुई महिनाअघि पढाइको सिलसिलामा रसिया पुगेका उनी रसियन फोर्समा भर्ती भएका थिए । ४ मिनेट १९ सेकेन्डको भिडियो सार्वजनिक गर्दै उनले आफू २२ वर्षको भएको बताएका छन् । आफू एक युनिभर्सिटीमा पढ्न आएको र युनिभर्सिटीले मागेको पैसा नदिए घर फर्कन भनेको र पछि आफू रसियन आर्मीमा भर्ना भएको बताएका छन् ।

रुसी सेनामा भर्ती भई युक्रेनसँग लड्न उनलाई ‘रेड जोन’बाट नियन्त्रणमा लिएको बताइएको छ । उनले भिडियोमा भनेका छन्, ‘बुबाममी नमस्ते अहिलेसम्म राम्रै छ पछि के हुन्छ थाहा छैन, रेगल सरलाई भनेको छु युक्रेनमा धेरै मान्छेहरू पनि छन्, उनीहरूलाई छिटोभन्दा छिटो निकाल्नु भन्नु आज ३ तारिख भइसक्यो । गाउँतिरको सबै जनालाई पनि भन्नु र प्रधानमन्त्रीलाई पनि भनेर मेरो उद्धार गर्नुहोस् ।’

उनले आफ्नो देशलाई धेरैधेरै सम्झिरहेको बताउँदै तत्काल आफूलाई उद्धार गरी नेपाल फर्काउन पनि सबैमा अनुरोध गरेका छन् । परिवारलाई धेरै सम्झिएको र उद्धारका लागि पहल गरिदिन पनि नेपाल सरकारसँग हारगुहार गरेका छन् ।

यसअघि रुसी सेनामा भर्ना भई बन्दी अवस्थामा रहेका नेपाली नागरिक विवेक खत्री पनि युक्रेनी सेनाको कब्जामा छन् । रुसी सेनामा भर्ना भई युद्धमा परी सन्दीप थपलिया (गोरखा), रुपक कार्की वाणगंगा १, कपिलवस्तु, देवान राई पोखरा, कास्की, पितम कार्की पुतलीबजार–५, स्याङ्जा, राजकुमार रोका मेलुङ–६, दोलखा र गंगाराज मोक्तान इलाम–५, इलामको मृत्यु भइसकेको छ ।

सामाजिक सञ्जाल टिकटकमा सयौँ नेपाली युवा रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्ध लागिरहेको भनेर भिडियो पोस्ट भने भइरहेको छ । रुस–युक्रेन युद्धमा रुसका पक्षबाट लड्न २ सय नेपाली कार्यरत रहेको अनुमान गरिएको छ ।

सरकारले भने कसैको प्रलोभन वा गलत सूचनाको आधारमा युद्धग्रस्त मुलुकको सेनामा भर्ना नहुन सम्बन्धित सबैमा अनुरोध गरेको छ । प्रहरीले रुसी सेनामा भर्ती हुन पठाएको आरोपमा १२ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।