काठमाडौंः देशभरका ६ लाख किसानले दूध बिक्री गरेबापत पाउनुपर्ने करिब आठ अर्ब भुक्तानी पाउन सकेका छैनन् । किसानबाट उठाएको दूध बजारमा बिक्री गर्न नसकी उद्योगको गोदाममै थन्क्याएर राख्नुपरेको जिकिर गर्दै उद्योगीले ठूलो रकम बक्यौता राखेका हुन् ।

राष्ट्रिय दुग्ध किसान सहकारी संघ लिमिटेडका अध्यक्ष अमर कुँवरका अनुसार १६ असारदेखि किसानले दूध बिक्री गरेको रकम पाउन सकेका छैनन् । ‘थोरै किसानले १६ असारदेखि रकम पाउन सकेका छैनन् भने बाँकी सबैले साउनदेखि दूध बिक्री गरेको पैसा पाएका छैनन्,’ उनले गुनासो गरे ।

किसानले स्थानीय सहकारीमा दूध बिक्री गर्ने गर्छन् । संकलन केन्द्रका रूपमा रहेका सहकारीले चिस्यान केन्द्रसमेत सञ्चालन गरेका छन् र त्यहीँबाट विभिन्न उद्योगले ठूलो परिमाणमा दूध उठाउँछन् । उद्योगले प्रत्येक १५ दिनमा किसानको रकम भुक्तानी दिन सहकारीलाई पैसा पठाउने र सहकारीमार्फत किसानले रकम पाउने गरेका थिए । तर, उद्योगले नौ अर्ब ४२ करोड ४५ लाख ५० हजार रुपैयाँबराबरको घिउ, बटर, पनिर, आइसक्रम, चिजलगायतका दुग्ध पदार्थ मौज्दात गर्नुपरेकाले नगद अभाव भई किसानको भुक्तानी गर्न नसकेको जिकिर गर्दै आएका छन् ।

राष्ट्रिय दुग्ध विकास बोर्डले संकलन गरेको तथ्यांकअनुसार सरकारी स्वामित्वको दुग्ध विकास संस्थान ९डिडिसी०सँग ४० करोड ६७ लाख ५० हजार, डेरी एसोसिएसनमातहतका उद्योगसँग एक अर्ब ४१ करोड ७८ लाख र डेरी उद्योग संघमातहतका उद्योगीसँग सात अर्ब ६० करोडबराबरको दुग्ध पदार्थ मौज्दात रहेको छ ।

कृषि तथा पशुपक्षी विकासमन्त्री डा। बेदुराम भुसालले गत असोजदेखि किसानको बक्यौता दिलाउन प्रयास गरे पनि असफल भएको बताए । ‘किसानको पैसा दिनुस् भनेर कतिपटक भनिसकेँ । तर, उद्योगीहरू पैसा छैनन् मात्र भन्छन्,’ उनले भने, ‘गोदाममा अर्बौँको दुग्ध पदार्थ मौज्दात छ भन्छन् । त्यही मौज्दात सामान बैंकमा धितो राखेर भए पनि किसानको पैसा दिनु भनेर पछिल्लो समय निर्देशन दिएको छु ।’

मन्त्रालयसँगको निरन्तर संवादका कारण उद्योगहरूले किसानबाट दूध उठाउन भने नछाडेको उनले बताए । ‘दूध बिक्री नभएपछि किसानबाट दूध नउठ्ने चिन्ता थियो, तर उद्योगीलाई सबै किसानको दूध उठाउनु भनेका छौँ,’ मन्त्री भुसालले भने । दुग्ध सहकारी संघका अनुसार देशभर रहेका ६ लाख दुग्ध किसानमध्ये पाँच लाख साना किसान हुन् । यस्ता किसानले दूध बेचेरै जीविकोपार्जन गर्ने भएकाले लामो समयदेखि पैसा नपाउँदा सकसमा पर्न थालेको संघका अध्यक्ष कुँवरले जानकारी दिए ।

‘दूध बेचेको पैसा लामो समयदेखि नपाउँदा साना किसानको जीविकोपार्जनमा धेरै समस्या भइसक्यो,’ उनले भने, ‘एउटै फार्ममा पाँच सय गाई–भैँसी राखेका ठूला किसानलाई पनि बैंकको ब्याज तिर्न ताकेता गरिरहेका छन् ।’ उनले जतिसक्दो छिटो किसानको पैसा भुक्तानीका लागि पहल गरिदिन मन्त्रालयसँग आग्रह गरे पनि सुनुवाइ नभएको गुनासो गरे ।किसानले ४ प्रतिशत चिल्लो पदार्थ र ८ प्रतिशत ठोस पदार्थ भएको दूध अहिले प्रतिलिटर ६५ रुपैयाँमा बिक्री गर्दै आएका छन् । केही समयअघि दूध अभाव हुँदा भने उद्योगीहरूबीच प्रतिस्पर्धा भई किसानले प्रतिलिटर ७८ रुपैयाँसम्ममा पाउने गरेका थिए ।

कृषि मन्त्रालयका सचिव डा रेवतीरमण पौडेलले उद्योगसँग मौज्दात रहेको दुग्ध पदार्थ बिक्री सुरु भएपछि मात्रै किसानको भुक्तानी सुरु हुने देखिएको बताए । ‘यो विषयमा पटक–पटक छलफल भएको छ । फागुनदेखि मौज्दातमा रहेको दुग्ध पदार्थको बिक्री सुरु हुने र किसानले पैसा पाउने क्रम सुरु हुने देखिन्छ,’ उनले भने ।

सीताराम डेरीका सञ्चालक तथा डेरी एसोसिएसनका पूर्वअध्यक्ष सुमित केडियाले मौज्दातमा रहेको दुग्ध पदार्थ बिक्री हुन नसक्दा पैसा दिन नसकेको बताए । ‘हामीलाई सफ्ट लोन मिलाइदिनुस् भन्दा पनि सरकारले चासो दिएको छैन । त्यसैले अब गोदाममा रहेको दुग्ध पदार्थको बिक्री फागुनदेखि सुरु भएपछि भुक्तानीलाई निरन्तरता दिन सकिने देखिन्छ,’ उनले भने । 

 गत वैशाखमा दूध नपुगेरआयात गर्न खोजेका थिए उद्योगीलेगत वैशाखमा दूध उत्पादन अपुग भएकाले भारतबाट आयात गर्न उद्योगी र दुग्ध विकास संस्थान ९डिडिसी०का प्रतिनिधिले लबिङ गरेका थिए । त्यतिवेला भर्खरै कृषि तथा पशुपक्षी विकासमन्त्री नियुक्त भएका डा। बेदुराम भुसालले मानेका थिएनन् । ‘म मन्त्री भएर आउनासाथ दूध उत्पादनले पुगेन, भारतबाट ल्याउन अनुमति दिनुपर्‍यो भनेका थिए,’ मन्त्री भुसालले भने, ‘तर, मैले मानिनँ । अहिले फेरि दूध उत्पादन बढी भयो भनेर किसानको पैसा रोक्ने काम भएको छ ।’ मन्त्री भुसालले दूध बजारको माग र आपूर्तिको सही विश्लेषण हुन नसकेको बताए ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा राजेन्द्रप्रसाद यादवले उद्योग र किसानबाट संकलित तथ्यांकअनुसार अहिले दूध बिक्रीमा नै समस्या भएकाले भुक्तानी हुन नसकेको निष्कर्ष निकालिएको बताए । ‘आर्थिक मन्दीले उपभोक्ताको क्रयशक्ति घट्न गई दूध र दुग्ध पदार्थको उपभोग कम भएको छ । किसानबाट दूध किनेर उद्योगले पाउडर, घिउ, आइसक्रिम, पनिरलगायत बनाई मौज्दात राखेका छन्,’ उनले भने, ‘मौज्दात सामान बिक्री गर्न सके किसानको बक्यौता भुक्तानी गर्न सजिलो हुने उद्योगीले तर्क गर्दै आएका छन् ।’

किसानसँग दाना खुवाउने पैसासमेत सकियो

चितवनको भरतपुर– २३, जगतपुरका किसान वीरप्रसाद चालिसेले गाई–भैँसीको दाना–चोकर खुवाउने पैसाको अभाव हुन थालेको बताए । ‘व्यापारीलाई नगद नदिई दाना–चोकर पाइँदैन, तर दूध बेचेको पैसा नपाउँदा गाई–भैँसीलाई दाना खुवाउन पनि मुस्किल पर्दै गएको छ । अर्कातिर नौजनाको परिवारको खर्च चलाउनै मुस्किल भएको छ,’ उनले भने ।

भरतपुर– १३, चम्पनागरकी ४३ वर्षकी विष्णुमाया तिमिल्सेनाले पनि यस्तै समस्या भोगिरहेकी छिन् । दसैँ–तिहारमा भुक्तानी पाउने आस गरेकी उनले अहिलेसम्म पैसा नपाउँदा घरखर्च चलाउनै मुस्किल भएको दुःखेसो गरिन् ।‘दूध बेचेको दुई महिनाको पैसा बाँकी छ । दूध बिक्रीबाट आएको पैसाले नै घरमा नुनतेल जोड्ने गर्छौँ,’ उनले भनिन्, ‘समयमा भुक्तानी नआउँदा घर चलाउन नै मुस्किल भएको छ ।’ 

भरतपुरस्थित उज्ज्वल दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष होमनाथ सुवेदीका अनुसार असार मसान्तदेखि सुजल डेरीले भुक्तानी दिएको छैन । साउनको मात्रै तीन लाख बाँकी छ । ‘भदौदेखि अहिलेसम्म एक रुपैयाँ पनि आएको छैन,’ उनले भने, ‘मूल्य पनि प्रतिलिटर ६८ रुपैयाँभन्दा दिन्नौँ भनेर पत्र पठाएको छ । जुन राज्यले तोकेको भन्दा कम हो ।’

किसानले ६५ रुपैयाँ र सहकारीले ३।६९ रुपैयाँ गरेर उद्योगीबाट कुल ६८।६९ रुपैयाँ पाउने गरी सरकारले गरेको निर्णयअनुसार अहिले उद्योगले पैसा दिन आनाकानी गर्दै आएका छन् । चितवनका दूध किसानको मात्रै २१ करोड बाँकी रहेको जिल्ला दुग्ध उत्पादक सहकारी संघ, चितवनका अध्यक्ष किशोर बगालेले जानकारी दिए । चितवनमा दैनिक साढे तीन लाख लिटर दूध उत्पादन हुने गरेकामा विभिन्न उद्योगले डेढ लाख लिटर उठाउने गरेका छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित भएको छ ।