रुकुम पश्चिमः  रुकुम पश्चिमको आठबीसकोट नगरपालिका १० मा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परेर नौ जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार बुधवार राति करिब सवा दश बजे भूकम्प पीडितहरूको अस्थायी टहरा निर्माणको लागि जस्तापाता बोकेर आठबीसकोट नगरपालिका ९ राडिबाट वडा नम्वर ८ को घर्ती गाउँतर्फ जाँदै गरेको रा १ त १४ नम्बरको ट्याक्टर वडा नम्बर १० को तिरिकोट भन्ने ठाउँमा दुर्घटना भएको हो । 

दुर्घटनामा परेर पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । मृत्यु हुनेहरुमा आठबीसकोट नगरपालिका वडा नम्बर १० का ४६ वर्षीय लोकबहादुर शाही र उहाँको ४२ वर्षीया श्रीमती चुकी शाही, सोही गाउँका ५२ वर्षीया भर्दर सार्की, वडा नम्बर ८ बस्ने ४८ वर्षीया धनराम सार्की र ४७ बर्षीया निर्मला सार्की रहेका छन् । मृतकहरूको शव राति ११ बजे आठबीसकोट नगर अस्पतालमा ल्याइएको छ । 

दुर्घटनामा परेर नौ जना घाइते भएका छन् । घाइते हुनेहरूमा आठबीसकोट नगरपालिका १० निवासी ३८ वर्षीय रमेश सार्की, वडा नम्बर ८ निवासी ४१ वर्षीय खड्क बहादुर पुन, १४ वर्षीय दलबहादुर पुन, ४५ वर्षीय कुमार घर्ती, ३४ वर्षीया रमा गुरुङ सार्की, ५१ वर्षीय जगवीर सार्की रहेका छन । त्यसै गरी वडा नम्बर ८ कै ३६ वर्षीय जयबहादुर घर्ती, ५८ वर्षीय मने सार्की र ४२ वर्षीय मदन पुन दुर्घटनामा परेर घाइते भएका छन । 

घाइते सबैको अहिले आठबीसकोट नगर अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्य तीन जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । 

घुम्ती मोड्ने क्रममा सडकबाट करिब ३० मिटर तल खसेर ट्याक्टर दुर्घटना भएको बताइएको छ । प्रहरीले ट्याक्टर चालक आठबीसकोट नगरपालिका ९ निवासी २१ वर्षीय गोपाल विकलाई नियन्त्रणमा लिएको जनाएको छ ।