काठमाडौंः  रुसी सेनामा भर्ती भएका चार जना नेपाली युक्रेनमा बन्धक बनेका छन् । युक्रेनमा बन्धक हुनेहरूमा बर्दियाको राजापुर गाउँपालिका–१ का विवेक खत्री, काभ्रेको मण्डन देउपुर नगरपालिका–६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ नगरपालिका–२ का विकास राई र रोल्पाको रुन्टीगढी गाउँपालिका–८ का प्रतीक पुन रहेको परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।

युक्रेनमा बन्धक बनाइएका नेपाली नागरिकहरूलाई फिर्ता पठाउन युक्रेनी सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरिएको मन्त्रालयले जनाएको छ । साथै, उनीहरूको रिहाइ र नेपाल फिर्तीका लागि रेडक्रसको अन्तर्राष्ट्रिय संस्था र अरू माध्यमबाट पनि कूटनीतिक पहल गरिएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।

रुसी सेनामा कार्यरत कुन्दन सिंहको मृत्यु

रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु भएको छ । नेपाली राहदानी नम्बर ०९४७३६३२ भएका कुन्दनसिंह नागलको मृत्यु भएको जानकारी पाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म रुसी सेनामा कार्यरत सात जना नेपालीको मृत्यु भएको विवरण सार्वजनिक भएको छ ।

मन्त्रालयले रुसी राजदूतमार्फत रुसी सेनामा भर्ती भई निधन भएका नेपालीहरूको शव यथाशीघ्र नेपाल पठाउन तथा घाइतेलगायतका पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पुनः अनुरोध गरिएको जनाएको छ ।

त्यसैगरी, नेपाली नागरिकलाई रुसी सेनामा भर्ती नगर्न र भर्ती गरिएका नागरिकलाई तत्काल नेपाल फर्काउन राजदूतमार्फत रुस सरकारलाई पुनः अनुरोध गरिएको जनाएको छ । रुसी सेनामा भर्ती भएका र घाइते नेपालीहरूको संख्या तथा उनीहरूको अवस्थाका ’दयगतमा रुसी सरकारबाट आधिकारिक रूपमा यथाशीघ्र जानकारी गराउन स्पष्ट अडान राखिएको मन्त्रालयले जनाएको छ ।

सरकारले सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्नबाहेक अरू नेपालीले रुस यात्रा गर्नुपरेमा ‘नो अब्जेक्सन’ लेटर लिएर मात्र जान आग्रह गरेको छ । नेपालबाट मात्र नभई भारत, बंगलादेश, श्रीलंका, संयुक्त अरब इमिरेट्स, साउदी अरबिया, कुवेत, कतार र बहराइनबाट रुस यात्रा गर्दा पनि ती मुलुकमा रहेका नेपाली दूतावास तथा महावाणिज्यदूतावासबाट ‘नो अब्जेक्सन’ लेटर लिएर मात्र यात्रा गर्न मन्त्रालयले आग्रह गरेको छ ।

सामाजिक सञ्जाल टिकटकमा सयौं नेपाली युवा रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्ध लाडिरहेको भनेर भिडियोहरू पोस्ट भइरहेका छन् । रुस–युक्रेन युद्धमा रुसका पक्षबाट लड्न ३ देखि ४ हजार जनासम्म नेपाली कार्यरत रहेको अनुमान गरिएको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।