इनरुवाः इनरुवामा जारी ‘मनमोहन स्मृति कप’ क्रिकेट प्रतियोगितामा नेपाल प्रहरी सेमीफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको खेलमा प्रहरीले आयोजक शान्तिदीप इनरुवालाई २ सय ७७ रनको फराकिलो अन्तरले पराजित गरेको हो । प्रहरीले दिएको ३ सय ७४ रनको लक्ष्य पछ्याएको इनरुवाले ३२ दशमलव २ ओभरमा ९६ रन मात्र बनाएको थियो । शान्तिदीपका सोनु मण्डलले २४, सोनु अन्सारीले १७ र आमिर अख्तरले १५ रन बनाए ।

बलिङतर्फ प्रहरीका सागर ढकालले ३ तथा ललित राजवंशीले २ विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको प्रहरीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ७३ रन बनाएको थियो । प्रेम तामाङ एक्लैले १ सय ३७ रन बनाएका थिए । उनले १ सय १९ बलको सामना गर्दै ४ छक्का र १६ चौका हानेका थिए । यस्तै अमित श्रेष्ठले ६९, कुशल भुर्तेलले ७९ तथा सुनिल धमलाले १४ रन बनाएका थिए ।

बलिङतर्फ इनरुवाका सोनु मण्डलले १० ओभरमा ८० रन दिएर ५ विकेट लिएका थिए । प्रतियोगिताको म्यान अफ द म्याच प्रहरीका प्रेम तामाङ घोषित भए ।