काठमाडौँः कुवेतमा २५ हजारभन्दा धेरै नेपाली महिला घरेलु कामदार रहेका पाइएको छ । कुवेतले भर्खरै निकालेको एक प्रतिवेदनमा त्यहाँ २५ हजारभन्दा धेरै नेपाली महिलाले घरेलु कामदारका रूपमा काम गर्ने गरेको जनाइएको छ । यो तथ्यांक सन् २०२३ सम्मको हो ।

त्यहाँस्थित नेपाली दूतावासका प्रथम सचिव प्रेमराज गौतमले दूतावासमा घरेलु महिला कामदारको तथ्यांक नरहेको बताए । पछिल्लो समय गैरकानुनी बाटो हुँदै कुवेत पुगेका सयौं नेपाली घरेलु महिला कामदारले घरमालिकले बन्धक बनाएको र यातना दिएको भन्दै दैनिकजसो उद्धारको अनुरोध गर्दै आएका छन् ।

नेपालले २०७३ सालमा घरेलु कामदारका रूपमा वैदेशिक रोजगारीमा गएका महिला असुरक्षित भएको भन्दै प्रतिबन्धसमेत लगाएको थियो । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको निर्णयमा खाडी तथा मलेसिया जान लगाएको प्रतिबन्ध ७ वर्ष बित्न लाग्दा पनि हटेको छैन । वैदेशिक रोजगारीमा घरेलु कामदारका रूपमा गएका अधिकांश महिलाको मानसिक, शारीरिक, आर्थिक शोषण भएकाले सरकारले रोक लगाएको थियो ।

यतिका वर्ष प्रतिबन्ध लगाए पनि मानव तस्करहरूले भारतको बाटो हुँदै गैरकानुनी तरिकाले खाडीका विभिन्न मुलुकमा घरेलु कामदार लैजाने गरेका छन् । नेपाल सरकारले घरेलु कामदारमा लगाएको प्रतिबन्ध खुला गर्दै विभिन्न मुलुकमा श्रम सम्झौता गरी कानुनी तरिकाले कामदार पठाउने वातावरण मिलाउनसके हजारौं नेपाली महिलाले रोजगारी पाउने थिए ।

घरेलु कामदारका लागि अनलाइन स्थानान्तरण सुरु
कुवेती अधिकारीहरूले मुलुकको डिजिटल रूपान्तरणको एक भागका रूपमा घरेलु कामदारहरूको प्रायोजन स्थानान्तरण गर्न अनलाइन सेवा सुरु गरेका छन् । गृह मन्त्रालयले सरकारी एप साहेलभित्र नयाँ सेवा ल्याएको छ । नागरिकहरूका लागि प्रक्रियाहरू सुव्यवस्थित गर्ने प्रयासमा मन्त्रालयले एकीकृत सरकारी सेवाहरूका लागि साहेल एपमार्फत घरेलु कामदारहरूको रेसिडेन्सी परमिट (इकामा) एक प्रायोजकबाट अर्कोमा हस्तान्तरण गर्न सक्षम गर्ने सेवा सुरु गर्ने घोषणा गरेको छ ।

फिलिपिन्सबाट नयाँ कामदारमाथि लगाइएको प्रतिबन्धका बाबजुद कुवेतमा घरेलु कामदारको संख्या गत अक्टोबरमा ८ लाख ११ हजार पुगेको छ । यो संख्या सन् २०२१ को अन्त्यमा ५ लाख ८३ हजार थियो । भारतबाट घरेलु कामदारको संख्या अघिल्लो वर्षको तुलनामा सन् २०२३ मा लगभग ३० प्रतिशतले बढेर ३ लाख ६१ हजार पुगेको छ । यसमा पनि महिला भारतीय घरेलु कामदारहरूको संख्या २८ दशमलव ७ प्रतिशत रहेको छ ।

यसको विपरीत तथ्यांकले श्रीलंकाबाट घरमा काम गर्ने कामदारहरूको संख्या सन् २०२२ मा ७९ हजारबाट गत वर्ष ४८ हजार २ सयमा घटेको देखाएको छ । जसमा महिला श्रमिकहरू ९० प्रतिशतभन्दा बढी रहेको मन्त्रालयलाई उद्धृत गर्दै गल्फ न्युजले जनाएको छ ।

नयाँ भर्तीमा प्रतिबन्धका बाबजुद कुवेतमा फिलिपिन्सका घरेलु कामदारको संख्या आधारमा दोस्रोमा आएर २ लाख १० हजार पुगेको छ । यसबाहेक, फिलिपिन्स अझै पनि कुवेतमा विदेशी महिला घरेलु कामदारहरूको कुल संख्यामा शीर्ष स्थानमा छ, जुन देशको कुल फिलिपिन्स घरेलु कामदारहरूको ९९ दशमलव ४ प्रतिशत हो ।

कुवेतले फिलिपिन्सका कामदारहरूका लागि सबै भिसा जारी गर्न निलम्बन गर्ने घोषणा ग¥यो, जुन प्रतिक्रियामा फिलिपिन्स अधिकारीहरूले दुई मुलुकबीच पहिले भएको श्रम सम्झौताको पालना गर्न असफल भयो । यद्यपि, कुवेतले वैध रेसिडेन्सी इजाजत भएका फिलिपिनोहरूका लागि नवीकरण जारी राखेको छ । दुई मुलुकबीच विवाद समाधानका लागि हालै भएको वार्ताले सकारात्मक नतिजा नआएको मिडिया रिपोर्टले जनाएको छ । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित भएको छ ।