इटहरीः आज भएको सभामुख राष्ट्रिय कप भलिबल खेलको रोचकतासँगै व्यवस्थापनको बडो कहालीलाग्दो अवस्था पनि दर्शकले देख्न पाए । समापन खेलका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्ट थिए ।

बिष्टले भाषणको क्रममा ‘खेलकुदको विकास गरिनेछ’ भन्दै गर्दा नेपाल पुलिस क्लबका खेलाडी द्वारिक थापा भने घाइते भए । घाइते हुँदा खेलाडी थापाले सामान्य प्राथमिक उपचार पनि पाउन सकेनन् । खेलको क्रममा घाइते भएर उनी छट्पटाउँदै गर्दा पनि सामान्य प्राथमिक उपचारको समेत व्यवस्थापन आयोजक पक्षले गर्न सकेको थिएन ।

घाइते भई खुट्टा खोच्याउँदै एक्लै मैदानबाहिर निस्केका थापालाई हेर्दै एक दर्शकले ‘खै डाक्टर ?’ भनेर प्रश्न गरेका थिए । उनले प्रश्न सोधिनसक्दै आयोजक टोलीका एक सदस्य भने भर्खरै आइस किन्न पठाएको र केही बेरमा आउने भन्दै मञ्चतपÞर्m उक्लिएका थिए ।

राष्ट्रिय स्तरको खेलमा सामान्य प्राथमिक उपचार समेत नहुनु लज्जाको विषय भएको खेल हेर्न आएका सन्तोष निरौलाले बताए । ‘यो टोल स्तरको गेम होइन । पुरस्कारले मात्र खेलको हैसियत कायम हुन सक्दैन । त्यही किसिमको व्यवस्थापन हुन पनि आवश्यक छ’, निरौलाले भने, ‘यत्रो ठुलो कार्यक्रम गर्दा आयोजकले सामान्य उपचारको समेत व्यवस्था नगर्नु व्यवस्थापकीय कमजोरी हो ।’