इटहरीः इटहरीमा जारी दोस्रो सभामुख कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

सोमबार भएको फाइनल खेलमा नेपाल आर्मीलाई ३–१ को सेटले पराजित गर्दै पुलिसले उपाधी सहित नगद ४ लाख रुपैयाँ हात पारेको छ । सुनसरी जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा उपविजेता भएको आर्मीले नगद २ लाख रुपैयाँमा चित्त बुझाएको छ ।

इटहरी रङ्गशालाको कोर्टमा सोमबार सम्पन्न फाइनलमा पुलिसले आर्मीलाई २६–२४, २२–२५, २५–२१ र २५–१७ को स्कोरले पराजित गरेको हो । प्रतियोगितामा एपीएफले गण्डकी प्रदेशलाई पराजित गर्दै तेस्रो भएको छ । सोमबार बिहानै भएको तेस्रो स्थानको खेलमा विभागीय टोली एपीएफले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै तेस्रो स्थान सुरक्षित गरेको हो ।

एपीएफले २५–२२, २५–१६ र २६–२४ को सेटमा जीत निकालेको हो । तेस्रो भएको एपीएफले नगद १ लाखसहित ट्रफी पाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी नेपाल आर्मीका धनबहादुर भट्ट घोषित हँुदै २४ इन्चको एलइडी टीभी प्राप्त गरे । यस्तै उत्कृष्ट स्पाइकर पुलिसका कुलबहादुर थापा, उत्कृष्ट ब्लकर पुलिसकै दीपक जोशी, उत्कृष्ट सेटर पुलिसकै एमबहादुर मगर घोषित भए ।

यस्तै, उत्कृष्ट डिफेन्डर आर्मीका ईश्वर थापा र उत्कृष्ट क्वीकर आर्मीकै भैरव बम घोषित भए । उत्कृष्ट प्रशिक्षक पुलिसका सरोज श्रेष्ठ भए । उनीहरू सबैले जनही नगद ५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

विजयी खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव बिष्ट, बोर्ड सदस्य शम्भु आचार्य, सल्लाहकार शालिग्राम खड्का, पूर्वाञ्चल खेलकुद विकास समितिका अध्यक्ष रबिन नगरकोटी, एन्फा सुनसरी अध्यक्ष केशव कार्कीलगायतले पुरस्कार प्रदान गरेका थिए ।

राष्ट्रिय खेलकुद परिषदको संरक्षणमा आयोजना भएको प्रतियोगिताको व्यवस्थापक तथा प्रवद्र्धक सुनसरी जिल्ला भलिबल सङ्घ र सहयोगी संस्थाको रूपमा इटहरी उपमहानगरपालिका, पूर्वाञ्चल भलिबल सङ्घ प्रदेश नम्बर १ र प्रगति समाज सेवा क्लब इटहरी रहेका थिए ।

गत बिहीबार शुरु भएको प्रतियोगितामा ३ विभागीय टिमसहित ७ वटै प्रदेशका टिमहरू सहित १० टोलीको सहभागिता रहेको थियो ।