काठमाडौँः खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो काठमाडौँको संयुक्त आयोजनामा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी–२०८० शनिवारबाट सुरु भएको छ । सो प्रर्दशनीको  राष्ट्रपति रामचन्द्र पौडेलले  काठमाडौँस्थित नेपाल आर्ट काउन्सिलमा  एक समारोहबिच उद्घाटन गरे । क्यानभासमा रङ्ग लगाएर राष्ट्रपति पौडेलले प्रर्दशनीको उद्घाटन गरेका हुन् । सो अवसरमा त्यहाँ राखिएका चित्रकलाको राष्ट्रपति पौडेलले अवलोकन पनि गरेका थिए  ।

कला, संस्कृति र पर्यटन प्रवर्द्धनको उद्देश्यले खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो काठमाडौँले गत असोज १७ देखि २१ गतेसम्म दिक्तेलमा मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला आयोजना गरेको र चित्रकलाको माध्यमबाट देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन त्यसबाट सहयोग पुग्ने नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए  ।

नेपाल, अष्ट्रेलिया, बङ्गलादेश, भुटान, चीन, इजिप्ट, भारत, जापान, लात्भिया, लिथुआनिया, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका, युक्रेन र भियतनामसहित १४ देशका ४३ जना वरिष्ठ चित्रकारहरूको सहभागितामा सम्पन्न भएको चित्रकला कार्यशाला र ५० देशभन्दा बढीका चित्रकारद्वारा सिर्जना गरिएका १७० वटा चित्रसहित वृहत् चित्रकला प्रदर्शनी  गरिएको धनु आर्ट स्टुडियोका प्रमुख वरिष्ठ चित्रकार धनु याख्खाले जानकारी दिए  । यस्तो प्रदर्शनीको माध्यमबाट उक्त नगरपालिका र सिङ्गो देशकै अन्तर्राष्ट्रिय सम्बन्ध सुमधुर बनाउने काममा योगदान पुग्ने उनले बताए । प्रर्दशनी १७ गतेसम्म चल्ने छ । 

AA-01

‘‘कला, संस्कृति र पर्यटन प्रवर्द्धनका लागि” भन्ने नाराका साथ हुने प्रदर्शनीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, रास्वपाका अध्यक्ष रवि लामिछाने लगायत सबै दलका प्रमुख नेताहरूलाई पनि प्रदर्शनी अवधिभर प्रदर्शनी स्थलमा अवलोकनका लागि बोलाइएको मेयर भट्टराईले बताए । त्यसको अलावा केही देशका राजदूतहरूलाई पनि अवलोकनका लागि सहभागी गराइने उनले बताए । समापन भने प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट गराउने योजना रहेको उनले सुनाए ।

केही समय अगाडिसम्म यातायात सुविधाका दृष्टिले विकट भनेर चिनिने खोटाङ जिल्लाले वास्तवमा प्रचुर पर्यटकीय सम्भावना बोकेको छ ।  जिल्लाका दशवटै पालिकाको कला, संस्कृति र पर्यटनको प्रवर्द्धनका लागि यहाँका पाखा, पखेरा, जङ्गल, खोल्सा, खोल्सी, खोँच, लेकबेसीका साथसाथै प्राकृतिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीको सुन्दर पक्षहरूको प्रचार गरिनु अत्यन्त आवश्यक रहेको मेयर भट्टराईले बताए  । 

नगरपालिकाको भौगोलिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय प्रत्यक्ष चित्रकला कार्यक्रम तथा प्रदर्शनी गर्ने कार्यक्रम तय गरिएको मेयर भट्टराईले बताए । यसका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सबै वडाहरूबाट त्यहाँका प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीको परिचय र पर्यटकीय महत्वसहितका तस्बिरहरूको छनोट तथा प्राथमिकीकरण गरि जिल्लाका अन्य ९ वटै स्थानीय तहहरूले समेत छनोट तथा प्राथमिकीकरण गरी पठाएका तस्बिरहरू समावेश गरि प्रत्यक्ष चित्रकला कार्यशाला सम्पन्न गरिएको उनले जानकारी दिए ।