काठमाडौँः श्रम स्वीकृति दिने जिम्मा पाएको वैदेशिक रोजगार विभाग अन्तर्गतका वैदेशिक रोजगार कार्यालय तथा श्रम कार्यालयहरूले हालको सफ्टवेयरबाट एक घण्टामा श्रम स्वीकृति दिन नसक्ने जनाएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल (डिपी) ले शुक्रबारदेखि एक घण्टाभित्र श्रम स्वीकृति दिने तयारी गरेको बताएका छन् ।
विभाग अन्तर्गतका वैदेशिक रोजगार कार्यालय काठमाडौँसहित श्रम तथा रोजगार कार्यालय पोखरा, श्रम तथा रोजगार कार्यालय बुटवल, श्रम तथा रोजगार कार्यालय जनकपुर र श्रम तथा रोजगार कार्यालय सुर्खेत र दूतावासबाट गन्तव्य देशबाट श्रम स्वीकृति लिन सकिने व्यवस्था छ ।
विभागका अनुसार पछिल्लो समयमा औसतमा एक हजार पाँच सय जनाले श्रम स्वीकृति लिने गरेकोमा दैनिक आठ सयभन्दा बढीले वैदेशिक रोजगार कार्यालय काठमाडौँबाट लिने गरेका छन् । हाल वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) नामक सफ्टवेयरमार्फत श्रम स्वीकृति लिने व्यवस्था हुँदै आएको छ ।
वैदेशिक रोजगार कार्यालय काठमाडौँका अनुसार श्रमका लागि टोकन लिएकालाई तुरुन्तै दिने चाहना हुँदा पनि सर्भरमा बेला बेलामा आइरहने समस्याका कारण तीन दिनसम्म लाग्ने गरेको छ । सो कार्यालयका निर्देशक एवं सूचना अधिकारी कल्पना मास्केले बेला बेलामा ‘सर्भर डाउन’ हुने समस्याका कारण पछिल्लो समयमा २४ घण्टाभित्र श्रम स्वीकृति दिन सक्ने अवस्था नरहेको बताए । उनले भने, “कर्मचारी त एक घण्टाभित्रै श्रम दिने गरी तयारी अवस्थामा छौँ तर सर्भरले काम गर्दैन, कर्मचारीले के गर्नु ? स्टिमले काम गर्दैन त ।”
यही मङ्गलबारदेखि बिहान ८ देखि साँझ ७ बजेसम्म तीन सिफ्टमा काम गरिरहेका छौँ तर पनि एक हजारभन्दा बढी श्रम स्वीकृति तीन दिनदेखि थुप्रिँदै आएको निर्देशक मास्केले जानकारी दिए ।
पछिल्ला दिनमा कार्यालय समयमा सर्भर असाध्यै ढिला चल्ने गरेका कारण काम थपिँदै गएको छ त्यसैले अबदेखि २४ घण्टा काम गर्ने व्यवस्थाको अनुरोध गर्दै बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पत्र पठाएको उनले जानकारी दिए । सर्भर राति ‘फास्ट’ हुने भएकाले २४ घण्टा (चार सिफ्ट) मा श्रम स्वीकृति दिने व्यवस्था गरियो भने अहिलेको सफ्टवेयरबाट तीनरचार घण्टाभित्रमा श्रम दिन सकिने अवस्था आउने निर्देशक मास्केको भनाइ छ ।
श्रममन्त्री अर्यालले पाँच दिन पहिलो (आइतबार) वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) प्रणाली आपूर्तिकर्ता, मन्त्रालयको सूचना प्रविधि शाखा र परामर्शदाता बोलाएर शुक्रबारदेखि एक घण्टाभित्र श्रम स्वीकृति दिने गरी प्रणालीको सुधार गर्न निर्देशन दिएका छन्।
वैदेशिक रोजगारीको कामकारबाहीलाई प्रविधिमैत्री बनाउन वैदेशिक रोजगार विभागले फेमिस प्रणाली प्रयोगमा ल्याएको छ तर यो प्रणालीमा आउने समस्याका कारण श्रमिकले समयमै श्रम स्वीकृति नपाउँदा थप आर्थिक भार खेप्नु परेको छ ।
यसै समस्यालाई समाधान गर्न मन्त्री अर्यालले फेमिस प्रणालीमा तत्काल सुधार गर्न निर्देशन दिएका हुन । मन्त्री अर्यालले संसारको कुनै पनि कुनाबाट श्रम स्वीकृतिका लागि श्रमिकले आवेदन दिँदा एक घण्टाभित्रमा श्रम स्वीकृति दिन सक्ने गरी प्रणाली सुधार गर्न निर्देशन दिएका थिए। मन्त्रालयको सूचना प्रविधि परामर्शदाताले विगत एक हप्तादेखि फेमिस प्रणालीको निगरानी गरिरहेको जनाएको छ ।