इटहरीः कन्ट्रोल लुब्रिकेन्ट मुख्य प्रायोजक रहेको १४ औं अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप प्रतियोगिता अन्तरगत बुधबार साँझ पहिलो सेमिफाईनल खेल हुँदैछ ।
इटहरी स्थित कोशी प्रदेशकै ठूलो र व्यवस्थित रंगशालामा साँझ ६ बजे इटहरी गोल्डकपको लगातार २ वटा प्रतियोगिताको विजेता बनेको सगरमाथा युथ क्लब शुन्दरहरैचा मोरङ र सोही क्लबसँग उप विजेता बनेको विभागीय टिम त्रिभुवन आर्मी क्लब काठमाण्डौं बीच रोमान्चक खेल हुने प्रतियोगिताका संयोजक अनुरोध थापाले जानकारी दिए ।
सगरमाथाका खेलाडीलाई २ पटक विजेता बनेको साख जोगाउन चुनौति छ भने आर्मी क्लबका खेलाडिहरुलाई यसअघि गुमेको साख फर्काउन पहिलो सेमिफाइनलमै सगरमाथालाई रोक्न दवाव सृजना भएको छ । सोही कारणपनि आजको खेल ज्यादै रोमान्चित हुने थापाको भनाई छ ।
राष्ट्रिय जागृति क्लबको आयोजनामा भइरहेको गोल्डकपको मङ्गलबार राति इटहरी रङ्गशालामा सम्पन्न खेलमा चर्च ब्वाइज युनाइटेडले मंगलबार एनआरटीलाई पराजित गर्दै १४ औं कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल तय गरेको थियो ।