काठमाडौंः लुम्बिनी अन्तर्राष्ट्रिय पिस फेस्टिबलअन्तर्गत गौत्तम बुद्धको जन्मभूमि लुम्बिनीमा चैत २४ गते दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथन हुने भएको छ । दौड अर्को साताको शनिबार हुनेछ । फेस्टिबल चैत २३ र २४ गते हुनेछ । फेस्टिलअन्तर्गत लुम्बिनी अन्तर्राष्ट्रिय मेडिटेसन डे र लुम्बिनी पिस कन्सर्ट पनि हुनेछ ।

 पिस म्याराथनको कुल पुरस्कार राशी १९ लाख १५ हजार रुपैयाँ रहेको छ । दौडमा पुरुष म्याराथनसंगै महिला हाफ म्याराथन, पाँच किलोमिटर खुला दौड पुरुष र महिला तथा पाँच किलोमिटर स्कुल ब्वाइज र गल्र्सको पनि प्रतिस्पर्धा हुनेछ । म्याराथनतर्फ शीर्ष १० मा रहने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ ।

पुरुष म्याराथनमा पहिलो हुनेले पाँच लाख, दोस्रो हुनेले तीन लाख र तेस्रो हुनेले दुई लाख रुपैंया प्राप्त गर्नेछन् । यस्तै चौथोले एक लाख, पाँचौंले ८० हजार र छैटौंले ६० हजार रुपैंया हात पार्नेछ । सातौंदेखि दसौं स्थानमा रहनेले क्रमशः ४० हजार, २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने छन् ।

महिला हाफ म्याराथनतर्फ पहिलोले दुई लाख, दोस्रोले एक लाख ६० हजार र तेस्रोले एक लाख २० हजार रुपैंया जित्नेछन् । पाँच किलोमिटर खुला दौडतर्फ शीर्ष तीनमा रहनेलाई क्रमशः १५ हजार, १० हजार र पाँच हजार रुपैंया प्रदान गरिनेछ ।

यस्तै पाँच किलोमिटर स्कुल ब्वाइज र गल्र्समा पनि शीर्ष तीन स्थानमा आउनेलाई १५ हजार, १० हजार र पाँच हजार रुपैंयाको पुरस्कार व्यवस्था गरिएको छ । फेस्टिबल नेपाल टुरिजम बोर्ड, नेपालस्थिति चिनिया दूतावास, लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटी र प्रदेश खेलकुद परिषद्, लुम्बिनीको आयोजनामा हुन लागेको हो ।