भोजपुरः  भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । भोलि आइतबारदेखि १५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक भोजपुर जिल्ला फुटबल संघले जानकारी दिएको छ । 

भोजपुर रङ्गशालामा सञ्चालन हुने प्रतियोगितामा ‘ए’ डिभिजनका दुई क्लबसहित आठ वटा टोलीको सहभागिता रहने आयोजक जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले जानकारी दिए । गोल्डकपमा ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड र विभागीय टोली त्रिभुवन आर्मी क्लबले सहभागिता जनाउनेछ । 

प्रतियोगितामा जर्जियन फुटबल क्लब भारत, त्रिभुवन आर्मी क्लब काठमाडौँ, चर्च व्बाइज युनाइटेड काठमाडौँ, राजारानी फुटबल क्लब धनकुटा, डाँगीहाट युथ क्लब मोरङ, सलहेश युवा क्लब सिराहा, खोटाङ भगवती स्पोर्टस् क्लब र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ गरी आठ टोलीको सहभागिता रहनेछ । प्रतियोगिता सञ्चालनका लागि ४९ लाख २५ हजार पाँच सय लागत अनुमान गरिएको छ । भोजपुर नगरपालिकाले ३० लाख विनियोजन गरेको छ ।

बाँकी रकम प्रायोजकहरुबाट जुटाइनेछ । हालसम्म १० लाख रकम जुटेको आयोजकको भनाइ छ । प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउनेछन् । व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकले पुरस्कार पाउनेछन् । भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा सञ्चालन हुन लागेको प्रतियोगिताको सहप्रायोजक राष्ट्रिय वाणिज्य बैंक र प्रायोजकमा साल्ट ट्रेडिङ कर्पोरेसन, शिवम फुटवेयर्स प्रालि, साङ्ग्रिला चप्पल, युडी बिल्डर्स भोजपुर र तेज कन्ट्रक्सन काभ्रे र संयुक्त बस व्यवसायी भोजपुर छन् । रासस