विराटनगरः राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार बिष्टले राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको हिजो विराटनगरमा उद्घाटन गरेका छन् ।

सो अवसरमा उनले प्रतियोगिता सञ्चालनबाट यस क्षेत्रमा जुनियर खेलाडी उत्पादनमा अग्रणी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

मोरङ जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा भएको यु– १९ प्रतियोगितामा नेपाली खेलाडी प्रिन्स दाहाल, प्रफुल्ल महर्जन, सत्यम् सुब्बा, प्रनिषसिंह ठकुरी, पविन लिन्थेप र म्यानमारका खेलाडी थु रिन रहेका छन् ।

प्रतियोगिता अन्तर्गतको उद्घाटन खेलमा यु–१५ तर्फ नेपालका रोहित बराल, विवेक चौधरी, उज्ज्वल श्रेष्ठ र नरेन्द्र बम विजयी भई अन्तिम आठमा पुगेका छन् ।

सो प्रतियोगितामा यु–१५ ब्वाइज र गल्र्स एकल तथा यु–१९ ब्वाइज र गल्र्स एकल र युगल गरी ६ स्पर्धामा खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका विजयीले २ लाख ५० हजार नगद पाउने बताइएको छ ।