इटहरीः  नेकपा एमाले तत्कालिन महासचिव स्व.मदन भण्डारीको स्मृतिमा राष्ट्रिय खुला म्याराथन हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीले रुपन्देहीको बुटवलमा स्व. मदन भण्डारीको ३१ औं स्मृति दिवसको अवसरमा जेठ ३ गते म्याराथन आयोजना गर्न लागेको हो ।

गत वर्ष शान्तीको कामनासहित भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा म्याराथन सम्पन्न गरेको एकेडेमीले यसपटक बुटवलमा प्रतियोगिता गर्न लागेको हो । सबैका लागि खेलकुंद भन्ने नाराका साथ बालकदेखि वृद्वासम्मको दोस्रो मदन भण्डारी कप राष्ट्रिय खुला म्याराथन आयोजना गर्न लागिएको मदन भण्डारी स्पोर्टस एकेडेमी अध्यक्ष ध्रुव आचार्यले जानकारी गराए । २१ किलोमिटरको हाफ म्याराथन प्रतिस्पर्धामा जो सुकैले पनि भाग लिन पाउने उनले बताए । त्यस्तै १० किलोमिटर कलेज स्तरीय र ५ किलोमिटरको विद्यालय स्तरीय छात्र र छात्रा दौड प्रतियोगिता पनि हुनेछ । ६० वर्ष माथिका जेष्ठ नागरिकको लागि वाकाथन प्रतियोगिता पनि राखिएको खेल संयोजक मोहन घलेले जानकारी दिए ।

   हाफ म्याराथनको प्रथम पुरस्कार १ लाख, द्वितीय पुरस्कार ७५ हजार, तृतीय पुरस्कार ५० हजार, चौथो ३० हजार, पाँचौ २० हजार र छैटौं १० हजार रहेको छ । १० किलोमिटर दौडको प्रथम पुरस्कार ३५ हजार, द्वितीय २५ हजार, तृतीय पुरस्कार १५ हजार, चौथौ १० हजार र पाँचौ र छैटौंको क्रमशः ७ हजार र ५ हजार रहेको छ ।

   छात्रमा शीर्ष ६ स्थान हात पार्नेले क्रमशः २० हजार, १५ हजार, १२ हजार, १० हजार, ७ हजार र ५ हजार प्राप्त गर्नेछन् । छात्रामा शीर्ष छ स्थानमा रहनेले क्रमशः १५ हजार, १० हजार, ७ हजार, ५ हजार, ३ हजार र २ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको तयारी तीब्र पारिएको एकेडेमीका कार्यालय सचिव विनोद आचार्यले जानकारी दिए । एकेडेमीले कीर्तिमानी धावक बैकुण्ठ मानन्धरलाई २ वर्षका लागि औषधि खर्चवापत रकम पनि सोही अवसरमा प्रदान गर्ने अध्यक्ष आचार्यले जानकारी दिए ।