काठमाडौँः नेपालले पानी निर्यात गरी आर्थिक समृद्धि हासिल गर्नसक्ने सम्भावना खोजिरहेका बेलामा कतार पनि पानी निर्यातको राम्रो गन्तव्य हुनसक्नेमा सरोकारवालाहरूले बताएका छन् । नेपालको खानेपानीले अन्तर्राष्ट्रिय बजारमा व्यापारिक सम्भावना खोजिरहेको बेलामा कतार पनि मुख्य गन्तव्य हुनसक्ने उनीहरूको भनाइ छ ।
पछिल्लो समय जलवायु परिवर्तनको असरका कारण विश्वमा पानीको स्रोत सुक्दै गइरहेको भन्दै यसबारे विश्वव्यापी छलफल सुरु भइसकेको छ । कतारलगायतका खाडीमुलुक पनि पानीको सङ्कटग्रस्त क्षेत्र मानिन्छ । कतारमा पानी निर्यातक्रम बढिरहेको अध्ययनले देखाएको छ । विभिन्न देशमा स्वच्छ खानेपानीको अभाव बढ्दो रहेको अवस्थामा हिमालको पानीको माग उच्च हुनसक्ने उनीहरूको आकलन छ ।
एक प्रतिवेदनअनुसार कतारमा हाल वार्षिक चार करोड डलरभन्दा बढी बोतलको पानीको व्यवसाय छ । यो प्रत्येक वर्ष बढ्दो छ । यस्तो अवस्थामा नेपालले हिमालको पानी कतारमा पुर्याएर आम्दानी गर्न सक्ने सरोकारवालाको भनाइ छ । नेपालबाट पनि बोतल बन्द पानी कतारमा निर्यात गर्न सके त्यसबाट राम्रो आम्दानी गर्न सक्ने सम्भावना छ ।
लगानी सम्मेलनको पूर्वसन्ध्यामा राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल भ्रमणमा आएका छन् । कतारी अमिरको भ्रमणले नेपालको स्वदेशी वस्तुहरूको निर्यात प्रवर्द्धनका लागि पहल गर्ने सुनौलो अवसरका रूपमा लिन सकिने उनीहरूको बुझाइ छ ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको चैतसम्म विश्वका दुई वटा मुलुकमा नेपालको पानी निर्यात भएको छ । तथ्याङ्कअनुसार यस अवधिमा रु १५ लाख २१ मूल्य बराबरको पानी भारत निर्यात भएको छ भने रु २० लाख ९० हजार बराबरको पानी जापान निर्यात भएको छ ।
भन्सार विभागका अनुसार आव २०७८र७९ मा नेपालले १८ हजार चार सय तीन लिटर पानी कतार निर्यात गरेको थियो । जसबाट नेपालले रु २५ लाख ४४ हजार आम्दानी गरेको थियो । तर त्यसपछिका वर्षमा कतारमा पानी निर्यात हुन सकेको छैन । अब त्यसलाई निरन्तरता दिन सके कतार पानी निर्यातको राम्रो गन्तव्य बन्न सक्ने देखिएको छ ।
केन्द्रकाअनुसार अघिल्लो वर्ष जर्मनी, जापान, भारत, अस्ट्रेलियामा खानेपानी निर्यात भएको थियो । केन्द्रका शाखा अधिकृत कृष्णराज बज्राचार्यले पानी व्यापार पनि मुलुकको आर्थिक समृद्धिको महत्त्वपूर्ण आधार भएको भन्दै पानी निर्यात प्रवर्द्धनलाई जोड दिएका छन् ।
खानेपानी मन्त्रालयका सहसचिव माधव अधिकारीले कतारमा खानेपानी निर्यातको राम्रो सम्भावना रहेको बताए । “हाम्रो हिमाली क्षेत्रको स्वच्छ खानेपानीको विज्ञापन गर्नसकेमा कतार पनि पानी निर्यातको राम्रो सम्भावना भएको मुलुक बन्न सक्छ”, उनले भने, “अहिलेसम्म केही निजी क्षेत्रहरूले पिउने पानी निर्यात गर्न थालेका छन् । अव यसलाई अझै व्यापक प्रचार प्रसार गर्दै कतारलगायतका खाडी मुलुकमा पनि व्यापारको गन्तव्य खोजिनुपर्छ ।”
लगानी सम्मेलन र कतारी राजाको भ्रमणका अवसरमा नेपालको पानीको निर्यात प्रवर्द्धनका लागि पहल गरिर्नुपर्नेमा उनले जोड दिए । पानी निर्यातसम्बन्धी ऐन नभएको भन्दै ऐन बनाउन पहल पनि थालिनुपर्नेमा उनले जोड दिए । “अहिले उद्योग विभागले निर्यातका लागि केही काम गरिरहेको छ । अब अन्तरसरकारी निकायबिच समन्वय बढाएर पानी निर्यातको नीतिगत व्यवस्था गर्न जरुरी छ”, अधिकारीले भने, “स्वदेशी पानी विश्वबजारमा बेच्नसकेमा स्वदेशी वस्तुको निर्यात प्रवर्द्धन हुने र मुलुकको आर्थिक समृद्धि सम्भव छ ।”
बिना मगर खानेपानी मन्त्री भएको समयमा नेपालको पानी विदेश निर्यात गर्ने विषयमा छलफल सुरु गरेकी थिइन। खानेपानी मन्त्रालयले यसैको निरन्तरता दिँदै छलफल चलाइरहेको छ ।
कतार वातावरण तथा ऊर्जा अनुसन्धान संस्थानले गरेको एक सर्वेक्षणअनुसार कतारको ३० प्रतिशत जनसङ्ख्याले मात्र दैनिक धाराको पानी पिउँछन् । अधिकांशको रोजाइ बोतलको पानीमा छ । खानेपानीको बढ्दो मागबिच ती क्षेत्रमा बोतलको पानीको उद्यम वार्षिक आठ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । बढ्दो जनसङ्ख्या, उच्च खपत उपभोग्य आय, सहज बजार पहुँच, स्वास्थ्यमा बढ्दो जनचेतनालगायतका कारण त्यहाँका जनता धाराको पानीको साटो ‘मिनिरल वाटर’को खपत बढेको अध्ययनले देखाएको छ ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का पूर्वअध्यक्ष भवन भट्टले पनि लगानी सम्मेलनको पूर्वसन्धामा कतारी राजा नेपाल भ्रमणमा आएको मौकामा खानेपानी निर्यातका लागि पहल गरेमा मुलुकको अर्थतन्त्र सुधार हुने बताए । “कतारको समृद्धिका लागि हाम्रा नेपाली कामदारहरूले गर्नुभएको योगदान महत्त्वपूर्ण छ”, उनले भने, “अब कतारले पनि हाम्रो मुलुकको समृद्धिका लागि खानेपानीलगायत स्वदेशी वस्तु आयात गरिदिन कतारलाई आग्रह गर्नुपर्छ ।”
नेपालको पैठारी व्यापारमा प्रमुख मुलुकमा भारत, चीन, युएई, युक्रेन, मलेसिया, संयुक्तराज्य अमेरिका, फ्रान्स, अस्ट्रेलिया, इण्डोनेसिया, अर्जेन्टिना, थाल्याण्ड, संयुक्त अधिराज्य, साउदी अरेयिबा र ओमान प्रमुखरुपमा रहेको उद्योग मन्त्रालयको भनाइ छ । चालु आर्थिक वर्ष २०८०र८१ प्रथम आठ महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापार घाटामा दुई दशमलव पाँच प्रतिशतले ह्रास आई कूल व्यापार घाटा रु नौ खर्ब २९ अर्ब ६१ करोडमा सीमित भएको मन्त्रालयको तथ्याङ्क छ ।
कतारमा पानी निर्यातको गन्तव्य बनाउनसकेमा मुलुकको व्यापार घाटा कम गर्न सकिने विज्ञहरूको भनाइ छ । नेपाल खानेपानी सरसफाइ तथा स्वच्छता नीति २०८० अनुसार पनि खानेपानी निर्यात मुलुकको अवसर रहेको छ । “विदेशमा समेत खानेपानी निर्यात गर्न यस क्षेत्रका अवसरका रूपमा रहेको छ”, नीतिमा उल्लेख छ ।
समुदायस्तरमा आयोजना पहिचान, तर्जुमा र कार्यान्वयनबाट उत्तरदायित्व वृद्धि हुने, जीवनशैलीमा आएको सुधारसँगै गुणस्तरयुक्त खानेपानी र सरसफाइ सेवाको बढ्दो माग, नदीनाला, तालतलैया तथा जलाशयलगायत अन्य वातावरणीय स्वच्छताका विषयमा जनचेतनामा आएको नकारात्मक अभिवृद्धि, सामुदायिक, गैरसरकारी तथा विकास साझेदारको सहयोग र सहभागिता, पर्यटकीय क्रियाकलापको अभिवृद्धि तथा पर्यटकलाई आकर्षण गर्न सकिने नीतिमा उल्लेख छ ।
नीति निर्माणको आवश्यकता पहिचान संविधान प्रदत्त स्वच्छ खानेपानी सेवामा पहुँच तथा स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हकको परिपूर्ति, संरक्षण, संवर्द्धन गरी दिगोरूपमा उपभोग गर्नका लागि दिशानिर्देश गर्न, विद्यमान ग्रामीण खानेपानी तथा सरसफाइ नीति र सहरी खानेपानी तथा सरसफाइ नीतिलाई एकीकृत गरी सङ्घीय संरचना अनुकूल बृहत्तर राष्ट्रिय नीति निर्माण गर्न, यस क्षेत्रमा रहेका वर्तमान समस्या तथा चुनौतीलाई सम्बोधन गर्न र भविष्यमा उत्पन्न हुनसक्ने समस्याहरूलाई न्यूनीकरण गर्न आवश्यक रहेको पनि नीतिमा उल्लेख छ । रासस