ओखलढुङ्गाः आठौँ रााष्ट्रिय खेलकुद प्रतियोगिताका लागि ओखलढुङ्गा जिल्लाबाट १ सय २९ जना खेलाडी छनोट गरिएको छ । १२ खेलका लागि ५८ महिला र ७१ पुरुष खेलाडी छनोट भएका हुन् ।

जिल्लाबाट भलिबल खेलमा २०, कबड्डीमा २०, कराँतेमा १०, तेक्वान्दोमा १५, एथलेटिक्समा ८, ह्याण्डबलमा १२, टेबलटेनिस र ब्याडमिन्टनमा ४–४, फुलकन्टयाक्ट कराँतेमा २ तथा उसु र पौडीमा १–१ खेलाडी सहभागी हुने भएका छन् ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रुपलाल तामाङका अनुसार जिल्लाबाट प्रशिक्षक र अफिसियल गरी २३ जना सहभागी हुनेछन् ।

सबै खेल प्रशिक्षकविहीन
जिल्लामा हालसम्म कुनै पनि खेलका प्रशिक्षक छैनन् । अन्य जिल्लाबाट काजमा प्रशिक्षक बोलाएर खेलाडी छनोट गर्नुपर्ने बाध्यता रहेको छ । कराँते, तेक्वान्दो, फुटबल, भलिबल, एथलेटिक्सलगायत खेलको प्रशिक्षकको दरबन्दी भए पनि जिल्लामा कार्यरत भने छैनन् ।