काठमाडौंः सबैका लागि सधैंका लागि भन्ने मूल मर्मलाई आत्मासाथ गर्दै २०५२ सालमा स्थापना भएको उप्रेती समाज सेवा समिति केन्द्रिय कार्यालय काठमाडौंले शनिवार बिभिन्न क्षेत्रमार्फत सामाजिक क्षेत्रमा सेवा गर्ने व्यक्तित्वहरुलाई नगद पुरस्कार सहित सम्मान गरेको छ ।
उप्रेती समाज सेवा समितिको स्थापना दिवसका अवसरमा काठमाडौंको गौशालामा आयोजित कार्यक्रममा बिभिन्न क्षेत्रबाट निरन्तर समाजिक क्षेत्रमा योगदान गर्ने संस्था र व्यक्ति गरी ५ जनालाई नगद पुरस्कार सहित सम्मान गरिएको उप्रेती समाज सेवा समितिका केन्द्रिय महासचिव लक्ष्मण उप्रेतीले जानकारी दिए ।
उनका अनुसार बृद्धबृद्धाहरुलाई आश्रम दिएर सहारा बनिरहेको विराटनगरको विराटेश्वर आश्रमलाई नगद ५१ हजार सहित सम्मान गरेको छ । सो नगद सहितको सम्मान आश्रमका जगतप्रसाद अर्याललाई प्रदान गरिएको थियो ।
पत्रकारिताको माध्यमबाट सामाजिक न्याय, मानवअधिकार, महिला तथा बालबालिका अधिकारका क्षेत्रमा शसक्त रुपमा कलम चलाई योगदान गरे वापत इटहरी ४ निवासी शुसिला उप्रेतीलाई नगद २५ हजार सहित सम्मान गरिएको महासचिव उप्रेतीले जानकारी दिए ।
महिला, बालबालिका र जेष्ठ नागरिकहरुको सेवामा लागे वापत इटहरीको माया घर नेपाललाई नगद १० हजार सहित सम्मान गरिएको महासचिव उप्रेतीले जानकारी दिए । माया घर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेललाई सो पुरस्कार तथा सम्मान प्रदान गरिएको हो ।
त्यसैगरी मानवअधिकार र महिला शसक्तिकरणमा योगदान दिए वापत अधिकारकर्मी गीता न्यौपानेलाई नगद १० हजार सहित सम्मान गरिएको छ । बनेपा निवासी यसोदा बोगटीलाई महिला हकहितका सर्मपित भई समाजिक सेवा गरे वापत २५ हजार नगद सहित सम्मान गरिएको थियो ।
उप्रेती सेवा समिति मार्फत उप्रेती वंशज सदस्यहरुले आफ्ना बुबा आमाको स्मृतिमा स्थापना गरिएका बिभिन्न ५ विधाका नगद सहितको पुरस्कार र सम्मान गरिएको उप्रेती समाज सेवा समितिकी महिला विभाग प्रमुख कमला उप्रेतीले जानकारी दिइन् । स्थापना दिवसकै दिन शनिवार उप्रेती समाज सेवा समितिले स्थापनाकालबाटै गर्दै आएको वंशज जेष्ठ सदस्यहरुलाई सम्मान समेत गरेको उनले बताइन् । उनका अनुसार ८० बर्षदेखि ९६ बर्षसम्मका १३ जना जेष्ठ वंशज सदस्यहरुलाई सम्मान गरिएको हो ।
बिभिन्न विधाका ५ पुरस्कार सहितको सम्मान र १३ जेष्ठ वंशजन सदस्यहरुलाई सम्मान कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्री गणेश उप्रेतीले गरेका थिए ।
कार्यकममा प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति डा. गंगाप्रसाद उप्रेती, पूर्व निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती बिशिष्ठ अतिथिका रुपमा कार्यक्रममा सहभागी भएका थिए । पुरस्कार तथा सम्मान कार्यक्रम अघि अविरल बर्षाका कारणपनि ५२ जनाले रक्तदान गरेका थिए ।
सो कार्यक्रम उप्रेती समाज सेवा समितिका केन्द्रिय अध्यक्ष शोभित उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको थियो । उप्रेती समाज सेवा समितिकी केन्द्रिय सदस्य तथा महिला विभाग प्रमुख कमला उप्रेतीले स्वागत गरेको कार्यक्रमको संचालन महासचिव लक्ष्मणप्रसाद उप्रेतीले गरेका थिए ।