काठमाडौंः बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग आगामी भदौमा हुने भएको छ । खेलाडीको क्षमता अभिवृद्धि गरी अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने उद्देश्यले बागमती प्रदेशभित्रका १३ जिल्लाबीच लिग सञ्चालन गर्न लागिएको काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकीले जानकारी दिए । 

बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग आयोजनाका लागि काठमाडौं जिल्ला समन्वय समिति र बागमती प्रदेश तेक्वान्दो संघबीच सम्झौता भएको छ । सम्झौतापत्रमा काठमाडौं जिल्ला समन्वय समितिका प्रमुख सन्तोष बुढाथोकी र बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीले हस्ताक्षर गरेका थिए । 

जिल्ला समन्वय समितिको संयोजन, काठमाडौं जिल्लाका ११ वटै पालिकाको आयोजना र बागमती प्रदेश तेक्वान्दो संघको प्राविधिक सहयोगमा सञ्चालन हुने लिगबाट खेलाडीको वरीयता निर्धारण पनि गरिने भएको छ । ‘बागमती प्रदेशस्तरीय खुला तेक्वान्दो लिग हरेक तीन÷तीन महिनामा सञ्चालन हुनेछ । पहिलो लिग भदौ, दोस्रो मंसिर, तेस्रो फागुन र चौथो लिग जेठमा आयोजना हुनेछ’, प्रमुख बुढाथोकीले आइतबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘लिग सञ्चालनका लागि काठमाडौं जिल्लाका ११ वटै पालिकाको पनि प्रत्यक्ष सहभागिता र सहयोग रहनेछ ।’

लिगमा पुरुषमा पाँच तथा महिलामा पाँच गरी १० तौल समूहमा प्रतिस्पर्धा हुनेछ । पुरुषमा ४६–५०, ५०–५४, ५४–५८, ५८–६३ र ६३–६८ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यस्तै महिलामा ४०–४३, ४३–४६, ४६–४९, ४९–५३ र ५३–५७ केजी तल समूहमा प्रतिस्पर्धा हुनेछ । लिगमा पहिलो हुनेले १० अंक, दोस्रोले सात अंक र तेस्रो हुनेले तीन अंक पाउने छन् । हरेक लिगका शीर्ष तीन स्थान हासिल गर्ने खेलाडीलाई अर्को लिगमा खान, बस्न र यातायातलगायतका खर्च आयोजकले बेहोर्ने बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरीले जानकारी दिए ।

लिगभरिको प्रदर्शनका आधारमा उत्कृष्ट हुने खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिने जनाइएको छ । हरेक पटकको लिग सञ्चालनका लागि पाँच लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रमुख बुढाथोकीले बताए । कार्यक्रममा बागमती प्रदेशका सांसद किरण थापा र जिल्ला समन्वय समितिकी उपप्रमुख शान्ति पाण्डेलगायतको उपस्थिति रहेको थियो ।