इटहरीः इटहरी–१४ मा रहेको शान्ति सिर्जना माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल तिम्सिनाले इटहरी उपमहानगरको लेखा शाखाबाट गम्भिर त्रुटी गरी विद्यालयको खातामा पठाएको ८० लाख रुपियाँ अपचलन गरेको बिषयमा आफ्नो ध्यानकर्षण भएको जनाउँदै उपमेयर संगीता चौधरीले यसमा संलग्न जो कोही कार्वाहीको भागिदार हुने बताएकी छन् ।
२२ महिना अघि इटहरी उपमहानगरपालिकाको लेखाशाखाबाट तलब भत्ता वापत सो विद्यालयको खातामा ८० लाख रुपियाँ पठाएको थियो । आर्थिक वर्ष २०७९–८० मा शिक्षकको तलब ९तीन महिना० बापत इटहरी उपमहानगरले विद्यालयलाई ७ लाख ३६ हजार ६ सय ६३ रुपैयाँ उपलब्ध गराउनुपर्ने थियो । तर, उपमहानगरको लेखा शाखामा कार्यरत कर्मचारीको गम्भिर त्रुटीका कारण विद्यालयको खातामा ८० लाख बढी रकम गयो । सो रकम विद्यालयको खातामा जम्मा भएको २२ महिना भएपछि मात्रै घटना बाहिरिएको हो । घटना बाहिरिए पनि विद्यालय र उपमहानगरले भने घटना सामसुम बनाउने प्रयास गरेको समाचार सार्वजनिक भएपछि बिहिबार उपमेयर चौधरीले सामाजिक सञ्जाल आफ्नो फेसबुकमा स्टाटस लेखि यस्तो संलग्न जो कोहीलाई कार्वाहीको दायरामा ल्याउने बताएकी हुन् ।
उपमेयर चौधरीले लेखा अधिकृत लखनलाल चौधरीले श्रावण १ गते प्रअ तिम्सिनालाई सम्बोधन गरी कागजात उपलब्ध गराई दिन उपमहानगरको तर्फबाट लेखेको पत्र समेत सार्वजनिक गर्दै श्रावण ३० गतेभित्रमा सबै कागजात झिकाई छानविन हुने जानकारी दिइएकी छन् ।
विद्यालयका शिक्षक कर्मचारीहरुको तलब भत्ता निकासा हुँदा बढी भुक्तानी भएको र बढी भुक्तानी भएको रकम फिर्ताका लागि तागेता गर्दा समेत विद्यालयले वेवास्था गरेको जनाउँदै आवश्यक कागजात उपलब्ध गराउन लेखाअधिकृत चौधरीले लेखेको पत्रमा निर्देशन दिइएको छ ।
लेखाअधिकृत चौधरीले विद्यालयलाई प्रअ तिम्सिनालाई बिल भरपाई भौचर, चेक बुक, बैंक स्टेटमेन्ट,बैंक नगदी किताब, बजेट हिसाब लगायत आवश्यक स्याहा श्रेष्ता माग गरेका छन् । लेखाअधिकृत चौधरीले पत्र काटेरै आवश्यक कागजात माग गरेपनि प्रअ तिम्सिनाले हालसम्म इटहरी उपमहानगरलाई केही पनि उपलब्ध नगराई आलटाल गरिरहेका छन् । आन्तरिक लेखा परिक्षकको जिम्मेवारी समेत पाएका लेखाअधिकृत चौधरीले नै लेखाशाखाबाट सो विद्यालयको खातामा बढी पैसा भुक्तानी दिइएको पत्ता लगाएका थिए । आन्तरिक लेखापरिक्षणको क्रममा लेखाशाखाको त्रुटी पत्ता लागेपनि २२ महिना बितिसक्दापनि सो रकम फिर्ता गराउन इटहरी उपमहानगर असफल जस्तै भएको छ ।
लेखा शाखाको प्रमुख जिम्मेवारी आठौ तहमा विकास पोख्रेल रहेका छन् । आन्तरिक लेखापरिक्षणले त्रुटी पत्ता लगाउन साथ बढी भुक्तानी गरिएको रकम फिर्ता ल्याउन तत्काल आवश्यक पहल थाल्नु पर्नेमा २२ महिनासम्म गुपचुप नै राख्नुले लेखाशाखा प्रमुखको कार्यशैली प्रति प्रश्न उठाउने ठाउँ बनेको छ ।
१ हजार भुक्तानी गर्दा समेत धेरै पटक रुजु गरेर मात्र दिनु पर्ने स्थानीय सरकारको जिम्मेवार शाखामा बसेर गम्भिर त्रुटी गर्दा समेत घटनालाई सामसुम पार्न खोजिनुले इटहरी सरकारका प्रमुख प्रशासकिय अधिकृत रामचरित्र मेहताको पनि ठूलो लार्पावाही देखिएको छ ।
इटहरी उपमहानगरले विद्यालयलाई ७ लाख ३६ हजार ६ सय ६३ रुपैयाँ उपलब्ध गराउनुपर्ने थियो । तर, इटहरी सरकारले ८० लाख बढी रकम सो विद्यालयको खातामा पठायो । २२ महिना अगाडि गरेको गम्भिर त्रुटीमा संलग्नलाई कानूनी दायरामा ल्याउन इटहरी सरकारले आवश्यक पहल पनि गरेको देखिएको छैन् । यसरी इटहरी सरकारको लेखाशाखाबाट भएको गम्भिर त्रुटीमा मार भने अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरुमा परेको छ ।
इटहरी सरकारले रकम नै नभएको भन्दै अघिल्लो आर्थिक बर्षको अन्तिम समयसम्म पनि स्वास्थ्य क्षेत्र, वडा कार्यालय र इटहरी उपमहानगरपालिका कार्यालयमा कार्यरत अस्थायी, करार र ज्यालादारीमा भर्ना गरिएका कर्मचारीहरुलाई तीन महिनाको तलब भत्ता खुवाउन सकेन ।
उनीहरुलाई आर्थिक बर्ष २०८०/२०८१ को बैशाख, जेष्ठ र असारको तलब अहिलेसम्म पनि इटहरी सरकारले भुक्तानी गर्न सकेको छैन् । तर एउटा विद्यालयका शिक्षक र कर्मचारीलाई ३ महिनाको तलब भत्ता वापतको रकम दिदा ८० लाखबढी भुक्तानी गरेर इटहरी सरकारको लेखाप्रणाली कसरी चलिरहेको छ भन्ने इटहरीबासी सामु स्पष्ट पारेको छ ।
२२ महिनासम्म ८० लाख रुपियाँ भुक्तानी भएको बिषय थाहा नपाउने गम्भिर घटनाले लेखाशाखाका प्रमुख र प्रमुख प्रशासकिय अधिकृतले इटहरी सरकारको लेखाप्रणाली मनपरी तरिकाले नै चलाईरहेका छन् भन्ने कुरालाई पुष्टि गरिदिएका छन् ।