प्रेम बास्तोला
इटहरीः इटहरी–१४ मा रहेको शान्ति सिर्जना माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल तिम्सिनाले आफ्नो फटाई स्वीकार गर्दै आफुलाई बचाई दिन हारगुहार गर्न थालेका छन् ।
शनिवार बसेको अभिभावक, स्थानीय बुद्धिजिवी सहित विद्यालय व्यवस्थापन समितिको बैंठकमा इटहरी उपमहानगरपालिकाबाट आएको ८० लाख रकम आफुले कसैलाई जानकारी नदिई अपचलन गरेको स्वीकार गर्दै प्रअ तिम्सिनाले मलाई दसा लागेको रहेछ, म बाट गल्ति भयो , मेरो पद र जागिर जोगाईदिनुहोस् भन्दै बैंठकमा सहभागी धेरैको खुट्टा नै समाएको बुझिएको छ ।
शनिवार बैंठकमा इटहरी उपमहानगरबाट शिक्षकको तलब र भत्ता बापत त्रुटी बस आएको ८० लाख रुपियाँका बारेमा विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ र विद्यालयका अन्य कर्मचारीहरुलाई समेत जानकारी नै नदिई तिम्सिनाले अपचलन गरेको निश्कर्ष निकालिएको छ ।
बैंठकमा तिम्सिनाले आफ्नो गल्ती स्वीकार गरेपछि ८० लाख अपचलन प्रकरणमा विद्यालयका कुनै कर्मचारी , शिक्षक, व्यवस्थापन समितिको संलग्नता नरहेको र यो प्रकरणमा आफ्नो मात्र संलग्नता रहेकाले सो रकम आफुले नै इटहरी उपमहानगरपालिकालाई क्रमश फिर्ता गर्ने व्यहोराको माइनोट नै गरिएको छ ।
माइनोटमा विद्यालय व्यवस्थापन समिति, अभिभावक, स्थानीय बुद्धिजीवि सहित प्रअ तिम्सिनाले पनि हस्ताक्षर गरेका छन् ।
बैंठकमा प्रअ तिम्सिनाले २०७७ सालमा बजेट मार्फत आएका कामहरु देखाउँदै त्यसैमा रकम खर्च गरेको, विद्यार्थीहरुको खाजा, फर्निचर खरिद र शिक्षक तथा कर्मचारीहरुको तलब भत्तामा खर्च गरेको भन्दै झुट विवरण प्रस्तुत गरेपछि बैंठकमा सहभागी अभिभावकहरु आक्रोशित भएका थिए ।
८० लाख बढी रकम आउँदा तत्काल इटहरी उपमहानगरपालिकाको लेखा शाखामा सम्पर्क गरी फिर्ता गर्नुको साटो कसैलाई जानकारी नदिई आफुखुसी खर्च गरी अपचलन गर्ने प्रअ तिम्सिनालाई तत्काल निलम्वन गरी कानुनी कार्वाही गर्नु पर्ने माग पनि बैंठकमा सहभागीहरुले राखेका छन् ।
पहिलाबाटै फटाई गर्नमा माहिर प्रअ तिम्सिना आफु कार्वाहीमा पर्ने भएपछि बचाई दिनु भन्दै शक्ति केन्द्रपनि धाउन थालेको स्थानीय अभिभावकहरुले बताएका छन् । स्थानीय अभिभावकहरुका अनुसार इटहरी उपमहानगरपालिकाले यस घटनालाई समान्य रुपमा मात्रै लिएर सामसुम पार्न खोजे प्रअ तिम्सिनालाई त्यसै नछाड्ने बताएका छन् । तत्काल प्रअलाई कार्वाहीको प्रकृया अगाडि नबढाए विद्यालयमा हाजिर गर्न नदिने देखि लिएर विद्यालय र समग्र १४ नम्बरको नै बदनाम गराएकाले कालोमोसोसम्म दल्ने योजना बनाएको एक अभिभावकले जानकारी दिए ।
प्रअ तिम्सिनाले विद्यालयको पठनपाठन सुधार गर्नुको साटो खाली निर्माणमा लागेर रकम अपचलन गर्दै आएको अभिभावकहरुको दावी छ । सो विद्यालयमा अध्ययन गर्ने अधिकांश बालबालिका दैनिक मजदुरी गर्ने अभिभावकहरु सन्तान हुन् । सोझा सिधा अभिभावक भएकाले प्रअ तिम्सिनाले भौतिक निर्माण देखाएर मख्ख पार्ने गरेको बुझिएको छ । विद्यालयलाई अध्ययन गर्ने विद्यालयका रुपमा नभई क्लब जस्तो बनाएको र पढाईको गुणस्तर ध्वस्त नै पारेको स्थानीय अभिभावकहरुको दावी छ ।
तिम्सिना सो विद्यालयमा प्रअ भएर आएबाटै आफुखुसी मनपरी गर्दै आएको स्थानीय अभिभावकहरुले बताएका छन् । राम्रो होला, पढाई पनि राम्रो गर्लान, उनी पनि सुर्धन्छन् होला भनेर सहदै आएको तर प्रअ तिम्सिनाले अति गरेपछि आफुहरु जाग्नु परेको स्थानीय अभिभावकहरुको भनाई छ ।
स्थानीय अभिभावकहरुका अनुसार प्रअ तिम्सिनाले पहिला पहिला विद्यालयको भौतिक संरचना निर्माणका नाममा आएको बजेट आफ्नै तरिकाले खर्च गर्ने र असारको अन्तिम तिर बैंठक राख्नुको साटो अभिभावकहरुको घर घरमा गएर माइनोटमा सहिछाप गराई रकम निकासा गर्ने गरेका थिए । सो बेलामा पनि कतिपय बुद्धिजीवि अभिभावहरुले बैंठक राख्नुहोस्, यो तपाई तलब कार्य गर्दै हुनुहुन्छ भन्दा हैन हतार हतार भयो । असार सकिन लाग्यो , पेश गरेन भने बेरुजु देखाउँछ भन्दै टार्ने गरेका थिए ।
प्रअ तिम्सिनाले विद्यालयमा हुने गरेको एउटै खर्चको बिषयमा ३÷३ वटा माइनोटसम्म गराएर फटाई गर्ने गरेको स्थानीय अभिभावकहरुले बताएका छन् । प्रअ तिम्सिना सो विद्यालयमा आएदेखि भएका सबै खालका खर्चहरुमाथि पनि गम्भिर तरिकाले छानविन हुन पर्ने माग स्थानीय अभिभावकहरुले गरेका छन् ।
शनिवारको बैंठकमा प्रअ तिम्सिनाले दिएको अभिव्यक्तिबाट ८० लाखबढी भुक्तानी गरिएको प्रकरणमा इटहरी उपमहानगरपालिकाको लेखाशाखा प्रमुख सहित केही कर्मचारी समेत संलग्नता छ कि भन्ने छनक पाएकाले उनीहरुमाथि पनि इटहरी उपमहानगरले छानविन गर्नु पर्ने माग गरिएको छ ।
इटहरी उपमहानगरपालिकाका प्रमुख(मेयर) हेमकर्ण पौडेलले लेखाशाखबाट ८० लाखबढी भुक्तानी गएको बिषय समान्य रहेको बताउँदै यसलाई ठूलो बिषय बनाउन नहुने बताए । सत्तामा रहेको पार्टी र बाहिर रहेका केही पार्टीहरुले यो बिषयमा ठूलो बनाएर फेरी राजनिति गर्न खोजेको आरोप पनि लगाए । उनले केही रकम फिर्ता गरीसकेका छन् । बैंकबाट ऋण लिएर भएपनि रकम फिर्ता गर्ने कुरा प्रअ तिम्सिनाले गरिसकेका छन् । ऋणका लागि बैंकमा प्रकृयापनि अगाडि बढाईसकेको आफुले जानकारी पाईसकेको उनले बताए । पहिला रकम फिर्ता गराउने त्यसपछि छानविनबाट जे निश्कर्ष आउँछ सोही अनुसार इटहरी सरकार अगाडि बढ्ने उनले बताए ।
इटहरी उपमहानगरपालिकाकी उप प्रमुख( उपमेयर) संगीता चौधरीले भने इटहरी सरकारको लेखाशाखाबाट ८० लाखबढी रकम भुक्तानी हुनु गम्भिर बिषय भएकाले श्रावण ३० गतेभित्र छानविन पुरा गरी दोषी सबैलाई कार्वाही गर्ने जनाउँदै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेकी छन् ।