इटहरीः इटहरी १४ को शान्ति सिर्जना माध्यामिक विद्यालयका प्रधानाध्यापक कमल तिम्सिनाले इटहरी उपमहानगरपालिकाको ८० लाख रुपियाँ अपचलन गरेको बिषयमा बनेको छानविन समितिले सोमबार विद्यालयबाट आवश्यक कागजातहरु जफत गरेको छ ।
२२ महिनाअघि शिक्षक र कर्मचारीहरुको तलब वापतको रकमका लागि चेंक मार्फत इटहरी उपमहानगरको लेखाशाखाबाट विद्यालयलाई ८० लाखबढी भुक्तानी गरेको बिषय मिडिया मार्फत सार्वजनिक भएपछि सुरुमा घटना सामसुम बनाउन खोजिएको थियो । इटहरी उपमहानगरपालिकाको लेखाशाखाबाट ८० लाख बढी विद्यालयको नाममा चेंक बनाएर भुक्तानी दिँदा २२ महिनासम्म थाहा नपाए झै गर्नु र आन्तरिक लेखा परिक्षणबाट पत्ता लागेपछि यो प्रकरण बाहिरिएको थियो । यो बिषय सामसुम पार्न खोजिएको भन्दै मिडियामा निरन्तर समाचार संम्प्रेषण भएपछि इटहरी उपमहानगरपालिकाले छानविन समिति बनाएको थियो ।
आन्तरिक लेखा परिक्षणको समेत जिम्मेवारीमा रहेका लेखा शाखाका लेखाअधिकृत लखनलाल चौधरीको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति गठन गरिएको थियो । चौधरीले छानविन समिति बन्नुअघि नै विद्यालयका प्रअ तिम्सिनालाई पत्र पठाई आवश्यक कागजात माग गरेका थिए । तर प्रअ तिम्सिनाले अटेर गर्दै आएका थिए ।
सोमबार करिब साढे ११ बजे संयोजक चौधरी सहित गएको छानविन समितिको टोलीले प्रअ तिम्सिनालाई आवश्यक सोधपुछ गरि विद्यालयको नाममा रहे्को बैंक खातका काटिएका अर्धकट्टी समेत रहेको चेंक बुक, २२ महिनाको अवधिमा भएका माइनोटहरु, बिल भरपाई भौचर, बैंक स्टेटमेन्ट, बैंक नगदी किताब लगायतका आवश्यक कागजात जफत गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रम्तुल मियाँ सहित व्यवस्थापन समितिका अन्य पदाधिकारी, अभिभावक सहितको रोहबरमा ती कागजात जफत गरि छानविन समितिको टोली दिउँसो ३ बजेतिर विद्यालय परिसरबाट उपमहानगरतर्फ लागेको स्थानीय अभिभावकहरुले जानकारी दिएका छन् ।
नाम मात्रका लेखापाल, प्रअ तिम्सिनाकै बजेट खर्चमा हालिमुहाली
८० लाख रकम आफैले अपचलन गरेको विद्यालय व्यवस्थापन समितिको शनिवारको बैंठकमा स्वीकार गरिसकेका प्रअ तिम्सिनाले देखाउनका लागि मात्रै भएपनि एक जनालाई लेखापालका रुपमा राखेको पाइएको छ । स्थानीय युवा सन्तोष सरदारलाई लेखापाल राखे.पनि कारोबारको खातापात, चेंक बुक, विद्यालयको छाप लगायत सबै कागजात प्रअ तिम्सिना आफैले दराजमा गोप्य रुपमा राख्दै आएको पाइएको छ ।
लेखापाललाई चेंकमा हस्ताक्षर गर्ने बाहेकको लेखाको अन्य कुनै जिम्मेवारी नै नदिएको बुझिएको छ । अलिक सोझा सरदारलाई उनले चेंकमा हस्ताक्षर गर्ने बेलामा काम लगाउने अरु बेला सबै काम आफै गर्ने गरेका थिए ।
सरदारले विद्यालयको ई—बैकिङ्ग कारोवारका लागि आफुलाई अधिकार दिन आग्रह गर्दा प्रअ तिम्सिनाले नमानी आफ्नै मोबाइल नम्बरबाट कारोबार गर्ने गरी व्यवस्था मिलाएको बुझिएको छ ।
२२ महिना अवधिमा शिक्षकको तलब वापत १२ लाख, साढे ९ लाख, साढे ५ लाख , साढे ४ लाख बाहेक अन्य ठूलो चेंकमा आफुलाई प्रअ तिम्सिनाले हस्ताक्षर नगराएको लेखापाल सरदारले बताए । उनले इटहरी उपमहानगरपालिकाबाट ८० लाखबढी रकम विद्यालयको खातामा आएको जानकारी नै प्रअले नगराएको दावी गरे । मिडियामा आएपछि मात्र आफुले पनि थाहा पाएको सरदारले बताए । उनले ९० हजार देखि १० हजारसम्मका साना रकमका केही सिमित चेंकहरु बाहेक अरुमा आफुलाई हस्ताक्षर नगराएको जानकारी दिए । ८० लाख रुपियाँ प्रअ तिम्सिनाले के कसरी खर्च गरे ? आफ्नो हस्ताक्षर चेंकमा चल्ने बताउँदै प्रअ तिम्सिनाले कतै आफ्नो हस्ताक्षर त किर्ते गरेनन् भन्ने शंका आफुलाई लागेको लेखापाल सरदारले बताए ।
उनले भने ‘म सोझोलाई पनि फसाउने काम प्रअ तिम्सिनाले गरे । शनिवारको व्यवस्थापन समितिको बैंठकमा ८० लाख अपचलन प्रकरणमा आफु बाहेक अरु कसैको संंलग्नता नभएको जनाउँदै बैंठक निर्णय पुस्तिकामा प्रअ तिम्सिनाले हस्ताक्षर गरेपनि नैतिक रुपमा आफुले पनि छानविनका क्रममा अनावश्यक दुःख पाउने नै भए ।’
उनले आफ्नो ८० लाख अपचलन प्रकरणमा कुनै संलग्नता नभएको जनाउँदै जुनै निकाय जहाँ बोलाएपनि आफ्ना कुरा स्पष्ट रुपमा राख्न तयार रहेको जनाए । यो प्रकरणमा संलग्न सबैमाथि छानविन गरि दोषीलाई कार्वाही गर्ने बिषयमा आफुले सक्दो सहयोग गर्ने लेखापाल सरदारले बताए ।