इटहरीः इटहरी उपमहानगरपालिकाको ८० लाख रुपियाँ हिनामिना गर्ने इटहरी १४ मा संचालित शान्ति सिजृना माध्यामिक विद्यालयको व्यवस्थापन समितिले विद्यालयका  प्रध्यानाध्यापक कमल तिम्सिनालाई तत्काल निलम्बन गरी कानुन बमोजिम कार्वाहीको माग गरेको छ । 

बुधबार विद्यालयमा बसेको व्यवस्थापन समितिको बैंठकले ८० लाख रकम हिनामिना गर्ने प्रअ तिम्सिनालाई विद्यालयको प्रअ पदबाट तत्काल निलम्बन गरी कानुन अनुसार कार्वाहीका माग सहित  इटहरी उपमहानगरपालिका, नगर शिक्षा शाखा र जिल्ला शिक्षा समन्वय समितिमा सिफारिस गर्ने निर्णय गरेको बैंठकमा सहभागी स्थानीय बुद्धिजिबी दुखिलाल चौधरीले जानकारी दिए । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रम्सुल मियाँको अध्यक्षतामा बसेको बैकले बुधबार भित्रै प्रअ तिम्सिनालाई निलम्बन सहितको कानुनी कार्वाहीको माग सहितको निर्णयको माइन्युट पुस्तिकाको फोटोकपी, प्रअ तिम्सिनाले आफुबाट रकम हिनामिना भएको स्वीकार गरेको अघिल्लो व्यवस्थापन समितिको बैंठकको निर्णयको फोटोकपी सहित विद्यलायको लेटरप्याटमा कभरलेटर बनाई इटहरी उपमहानगरपालिकामा पेश गर्ने निर्णय भएको चौधरीले बताए । 

विद्यालय व्यवस्थापन समितिको सदस्य सचिव समेत रहेका प्रअ तिम्सिना अघिल्लो बैंठकमा सहभागी भएपनि बुधबारको बैंठकमा अनुपस्थित भएको चौधरीले जानकारी दिए । बुधबारको बैंठकमा विद्यालय व्यवस्थापन समिति,अभिभावक संघका पदाधिकारीहरु, स्थानीय अभिभावक र बुद्धिजिवीहरुको सहभागीता रहेको थियो । 

सोमबार मात्रै ८० लाख हिनामिनाको छानविनका लागि इटहरी उपमहानगरपालिकाले गठन गरेको छानविन समितिले विद्यालयबाट आवश्यक कागजातहरु जफत गरेको थियो । लेखाअधिकृत लखनलाल चौधरी सहितको ३ जनाको छानविन समितिले विद्यालयबाट चेंकको अर्धकट्टी, भौचर,माइन्युट लगायतका आवश्यक कागजातहरु जफत गरी लगेको थियो । 

२२ महिनाअघि इटहरी उपमहानगरपालिकाको लेखाशाखाले विद्यालयको खातामा शिक्षक र कर्मचारीको तीन महिनाको तलब भत्ता वापतको रकम पठाउँदा ८० लाखबढी भुक्तानी गरेको थियो ।  आन्तरिक लेखा परिक्षण गर्दा २२ महिनापछि विद्यालयलाई ८० लाखबढी रकम भुक्तानी भएको पत्ता लागेको थियो । आन्तरिक लेखापरिक्षकको जिम्मेवारी समेत पाएका हाल छानविन समितिका संयोजक लखनलाल चौधरीले ८० लाखबढी रकम बढी भुक्तानी भएको पत्ता लगाउन साथ रकम फिर्ताका लागि प्रअ तिम्सिनालाई पत्रचार गरेका थिए । तर उनले दुई पटक गरी १४ लाख फिर्ता गरेपनि बाँकी रकम फिर्ता गर्न आलटाल गरेका थिए । 

इटहरी उपमहानगरपालिकाको लेखाशाखाबाट पनि गम्भिर त्रुटी भएको पाईएपछि घटना सामसुम पार्न खोजिएको थियो । मिडिया मार्फत घटना सार्वजनिक भएपछि इटहरी उपमहानगरले छानविन समिति बनाएको थियो ।