धनकुटाः धनकुटाको इतिहाससँगै जोडिएको एउटा महत्वपूर्ण स्थान हो धनकुटास्थित तल्लो टुँडिखेल । लामो समयसम्म मर्मत अभावका कारण जीर्ण बन्दै गएको ऐतिहासिक टुँडिखेल अहिले भने आधुनिक र पूर्वाधारयुक्त बनाइएको छ ।

राणा प्रधानमन्त्री देव समशेरले धनकुटा बसाइका क्रममा काठमाडौंमा जस्तै सानो आकारका दुई धरहरा निर्माण गर्न लगाएका थिए । धरहरासँगैको खाली जमिनलाई त्यतिबेलैदेखि खुला मैदानको रूपमा विकास गरिएको थियो । विभिन्न खेलकुदसहित सामान्य कार्यक्रम त्यही बेलादेखि यहीँ हुने गर्दथ्यो ।
धनकुटा–५ स्थित तल्लो टुँडिखेलमा अहिले भने पक्की प्याराफिट, सुविधायुक्त मञ्च, मैदान सम्याउने, दुबो लगाउने र वरीपरी तार घेराबारा गर्ने काम गरिएको छ । मैदानमा सुन्तले रङ लगाइएको छ । जसले धरै टाढाबाट समेत धरैको मन लोभ्याउने गरेको छ ।

tudikhel dhankuta  (5)

धनकुटा नगरपालिकाको स्वामित्वमा रहेको सो टुँडिखेल धनकुटा फुटबल सङ्घले २५ वर्षका लागि भाडामा लिई मैदान व्यवस्थापनको कार्य शुरु गरेको हो । अघिल्लो आर्थिक वर्ष संसद विकास कोषको १० लाख ५० हजार र राष्ट्रिय खेलकुद परिषद्को ५ लाख तथा धनकुटा नगरपालिकाको ७० लाख रुपैयाँको आर्थिक सहयोगमा टुँडिखेल मर्मत गरिएको हो ।

यो ऐतिहासिक टुँडिखेल देशकै नमुना रङ्गाशाला हुने धनकुटा–५ का वडासदस्य तथा शहीद भीमनारायण स्मृति प्रतिष्ठानका महासचिव रोशन श्रेष्ठ बताउँछन् । यो मैदान धनकुटाको इतिहाससँग जोडिएको छ । हामीले यसको स्तरोन्नति गरेर नमूना बनाएका छौ यत्तिको राम्रो खेलमैदान विरलै मात्र पाइने उनले बताए ।

tudikhel dhankuta  (1)
देव समशेरको पालामा पहिलो पटक स्थापना गरिएको टँुडिखेल पछि २०३० सालमा थप जग्गा अधिग्रहण गरी बिस्तार गरिएको थियो । २०४० सालमा सामान्य प्याराफिट र मञ्च निर्माण गरिएको थियो । त्यस यता कुनै पनि मर्मत हुन सकेको थिएन ।

टुँडिखेललाई अहिले भने आधुनिक र पूर्वाधारयुक्त बनाइएको छ । शहीद भीमनारायण अन्तर्राष्ट्रिय गोल्डकप पूर्वी क्षेत्रकै प्रतिष्ठित फुटबल प्रतियोगिता भए पनि मैदानको स्तर राम्रो नहुँदा ठूला क्लबले सहभागिता जनाउन मान्दैन थिए । तर अब स्तरोन्नति भएपछि देशमै नाम चलेका प्रतिष्ठित क्लब प्रतियोगितामा सहभागी हुने तथा अन्य थप प्रतियोगिता गर्न सजिलो हुने भएकाले जिल्लामा खेलको रौनक अझै बढ्ने जिल्ला फुटबल सङ्घ धनकुटाका अध्यक्ष गोविन्द राईको भनाइ छ ।
यो मैदानमा फुटबल मात्र नभएर जिल्ला तथा क्षेत्रस्तरीय धेरै प्रतियोगिता समेत हुने गरेका थिए ।

tudikhel dhankuta  (2)

तर मैदान राम्रो नहुँदा खेल खेलाउन समस्या पर्ने गरेको थियो । त्यसो त कहिले गोल प्रोजेक्ट त कहिले मैदानको स्तरोन्नति गर्ने चर्चा पटक पटक नचलेको भने होइन । तर काम हुन सकेको थिएन । यो मैदानको स्तरोन्नति पछि लम्बाइलाई बढाएर अहिले १ सय १० मिटर र चौडाइ बढाएर ७० मिटर बनाइएको छ । यही मैदानले धनकुटावाट किरण चेम्जोङ, बुद्ध चेम्जोङ, सुजल श्रेष्ठलगायतका राष्ट्रिय स्तरमा ख्यातिप्राप्त खेलाडीे जन्माइसकेको छ ।

tudikhel dhankuta  (3)