बुटवलः संविधानमा लेखिएको समाजबाद कार्यान्वयन गर्न सामुदायिक वन समूहलाई अगाडिबढाउनुको बिकल्प नरहेको सामुदायिक वन उपभोक्ता महासंघ नेपालका राष्ट्रिय अध्यक्ष ठाकुर भण्डारीले  बताएका छन्  । 

उनले संविधानमा लेखिएको समाजबाद अहिले सम्म पनि कार्यान्वयन हुन नसकेको बताए । उनले समाजबाद कार्यान्वयन गर्ने हो भने तीन तहका सरकारले सामुदायिक वन समूहलाई प्रमुख प्राथमिकतामा राखेर अगाडि बढाउनुको बिकल्प नरहेको बताए।

उनले जब सम्म जल, जंगल र जमिनमा स्थानीय समुदाय मालिक बन्दैन तब सम्म यो मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुनै नसक्ने जिकिर गरे ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेश समितीले रूपन्देहीको बुटवलमा आयोजना गरेको स्थानीय वन महासंघका लागि दुई दिने सामुदायिक वन सम्बन्धि कानुनी क्षमता अभिबृद्धि तालिमलाई शुक्रबार उद्घाटन गर्दै राष्ट्रिय अध्यक्ष भण्डारीले यस्तो बताएका हुन् । 

 भण्डारीले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आएपनि ब्यबहारमा लागू नभएको दावी पनि गरे । 

Messenger_creation_CFA85AEE-2B16-4D0E-9E02-9106FB0C3421-1536x719

 राष्ट्रिय अध्यक्ष भण्डारीले वन महासंघको अभियान पहाड भएको बताउँदै उनले पहाडलाई कसैले कुइनाले थकेल्न खोजे कुइना ठिक हुने तर पहाडलाई केही नहुने भन्दै वन महासंघका बिरूद्ध कसैले दिवा सपना समेत नदेख्न चुनौती दिए । उनले २०५२ सालमा स्थापना भएको वन महासंघका बिरूद्ध स्थापनाकाल देखि नै विभिन्न तत्व लागेको भएपनि अहिले सम्म कसैले केही गर्न नसकेको बताए। उनले सामुदायिक वन महासंघका बिरूद्ध कुन संस्था खुल्यो ? कुन संस्था खुलेन त्यो प्रमुख बिषय नभएको बरू सामुदायिक वन समूहको पक्षमा कसले बोल्यो भन्ने प्रमुख बिषय भएको समेत बताए ।

 भण्डारीले पैसा नभएपनि निरन्तर जनताको अधिकारका लागि खट्ने संस्था वन महासंघ नै भएको बताए। उनले जतिबेला सामुदायिक वनका अधिकार खोसिन्छ, त्यति बेला सामुदायिक वनको अधिकार खोस्ने मुर्दाबाद र सामुदायिक वनका अधिकार स्थापित गर जस्ता नारा लगाउँदै सडक आन्दोलन गर्दै आएको बताए । अध्यक्ष भण्डारीले सामुदायिक वन समूहको बिरूद्ध लाग्नेहरूका बिरूद्ध कालो ्झण्डा देखाउने चेतावनी समेत दिए । उनले वन महासंघ संग एक रूपैयाँ नहुँदा पनि झोलामा कार्यालय राखेर भएपनि सञ्चालन हुँदै आएको बताए । उनले केही संस्थाहरू पैसा हुँदा सम्म मात्र चल्ने तर पैसा सकिएपछि बन्द हुन्छन् । तर वन महासंघ संग पैसा नभएर कार्यालय कहिल्यै बन्द नभएको ईतिहास बताए ।

Messenger_creation_FF78ACC1-0887-46C2-BB83-D662B19CCF6E-1536x692

संघ, प्रदेश र स्थानीय सरकारले बनाएको वन सम्बन्धि कानुन, ऐन लगायतका बिषयमा जानकारी दिन तालिम आयोजना गरिएको वन महासंघ लुम्बिनी प्रदेशका महासचिव शोभाकर सापकोटाले जानकारी दिए । उनले कानुनी ज्ञान नहुँदा केही सामुदायिक वन समूहले विभिन्न मुद्दा मामिला खेप्नु पर्ने अवस्थाको अन्त्य गर्न र वन समूहलाई कानुनी रूपमा सक्षम बनाउन तालिमले ठुलो भूमिका खेल्ने महासचिव सापकोटाको भनाई छ ।

वन महासंघ लुम्बिनी प्रदेशका सचिव मधुकला कुवरको स्वागत मन्तव्यबाट शुरू भएको तालिममा लुम्बिनी प्रदेश भरिका १२ वटा जिल्लाका ५० वटा स्थानीय वन महासंघका पदाधिकारीहरूको सहभागिता रहेको छ । तालिमको प्रशिक्षकमा वन महासंघका कानुनी सल्लाहकार अधिबक्ता डिलराज खनाल र अधिबक्ता अनिल बन्त रहेका थिए । उद्धाटन कार्यक्रममा महासंघका प्रदेश कोषाध्यक्ष निमकुमारी सिंह, प्रदेश सदस्यहरू यमबहादुर रोका, टेकबहादुर विक, महासंघ कै रूपन्देही जिल्ला अध्यक्ष श्यामकला आचार्य, पत्रकारद्वय सन्तोषकुमार गुप्ता र बिदुर एमसी लगायतको उपस्थिति रहेको थियो ।