विराटनगरः मोरङको रंगेली नगरपालिकाले हालै भूमि तथा मालपोतसम्बन्धी कर बढायो। त्यसविरुद्ध कांग्रेसले आन्दोलन गर्‍यो। जनतालाई सर्वसुलभ र सहज रूपमा सेवा दिन बनेका स्थानीय सरकारले ‘जनताको ढाड’ भाँचिने गरी कर बढाउनु अन्याय नै हो। तर, रंगेलीविरुद्धको आन्दोलनमा सहभागी बने –विराटनगरका मेयर नागेश कोइराला।

रंगेलीविरुद्धको आन्दोलन र नाराबाजीमा सहभागी भएपछि विराटनगरका मेयर कोइराला विवादमा परेका छन्। रंगेली नगरपालिकामा एमालेका दिलीप बगडिया मेयर हुन्। विराटनगरका मेयर कोइरालाले रंगेलीविरुद्धको आन्दोलनमा सहभागी भएर ‘अनौठो राजनीति’ गरेको यहाँका राजनीतिक दलका नेताहरू बताउँछन्। आफु नेतृत्वको सरकारबाट जनतालाई सेवा सुविधा दिने भन्दा अर्कै नगरपालिका विरुद्धको आन्दोलनमा सहभागी भएकोमा मेयर कोइरालाको आलोचना भइरहेको छ। विराटनगरका मेयर कोइराला रंगेलीविरुद्धको आन्दोलनमा सहभागी भएका बेला विराटनगरस्थित कार्यकक्ष अगाडि सेवाग्राहीको भिड थियो। रंगेलीको आन्दोलनमा जनाएको उपस्थितिले उनको कार्यशैलीको विरोध र टीकाटिप्पणी गर्नेहरूलाई थप बल पुगेको छ। नेपाली कांग्रेस मोरङका सचिव मोदराज घिमिरेले रंगेली नगरपालिकाले कर वृद्धि गरेपछि पार्टीको तर्फबाट आन्दोलन भइरहेको जानकारी दिए। घिमिरे रंगेलीको मेयरमा एमालेका दिलीप बगडियासँग पराजित भएका थिए।

नगरपालिकाले बढाएको र नयाँ निर्धारण गरेको कर घटाउनुपर्ने मागसहितको आन्दोलनमा विराटनगरका मेयर कोइराला पनि सहभागी भएको घिमिरेले बताए। मेयर कोइरालाले भने पालिका प्रमुखको हैसियतमा नभई कोइराला पार्टीको तर्फबाट आन्दोलनमा गएको बताए। ‘म नेपाली कांग्रेस मोरङ जिल्लाको उपसभापति हो,’ मेयर कोइरालाले भने,‘पार्टी उपसभापतिको हैसियतामा आन्दोलनमा सहभागी भएँ। मैले राजनीति नै गर्न छाड्नु र ? लोकतन्त्रमा मुख थुन्ने कुरा हुन्छरु पार्टीका साथीहरूले आन्दोलन गरिरहेका छन्। त्यही भएर सामूहिक प्रतिबद्धता जनाउन गएँ।,’ 

कांग्रेस मोरङको जिल्ला अधिवेशन नजिकिँदैछ। अधिवेशनमा उनले सभापतिमा उठ्ने तयारी गरिरहेका छन्। सभापतिमा उठ्ने तयारी भएकाले महानगरभित्रको काम छाडेर उनी रंगेलीको आन्दोलनमा पुगेको कांग्रेसका नेता कार्यकर्ता बताउँछन्। आफ्ना लागि माहोल मिलाउन लागेका कोइराला मंगलबार कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सुरु गरेको आमरण अनशनमा पनि पुगेका थिए। आमरण अनशन सुरु गर्ने भनेर जानकारी दिन कार्कीले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा पनि कोइराला उपस्थित थिए। 

कोइराला मेयरमा निर्वाचित भएपछि पूर्वमुख्यमन्त्री कार्कीसँगको सम्बन्ध बिग्रिएको थियो। २०८१ साउन १२ मा प्रेस युनियनको जिल्ला अधिवेशनमा कार्की र कोइरालाले छुट्टाछुट्टै प्यानल बनाएका थिए। कोइरालाले पछिल्लो समय कार्कीसँग सम्बन्ध सुधार गरेका छन्। कांग्रेसको इतर समूह (डा. शेखर कोइराला) सँग को बढी नजिक हुने भन्नेमा दुवैजनाको होडबाजी छ।

उनीहरू दुवै कांग्रेसभित्र डा। कोइराला पक्षधर हुन्। ‘जिल्ला अधिवेशन नजिकिएपछि सम्बन्ध सुधार गर्दैछन्। केदारसँग पछिल्लो समय सम्बन्ध सुधार गरेका छन्,’ कोइरालानिकट एक नेताले भने। जिल्ला सभापति उठ्ने भए पनि महानगरमा भन्दा बढी ध्यान पार्टीलाई दिइरहेको कांग्रेसकै नेता कार्यकर्ता बताउँछन्। 

कोइरालाले पनि आफू जिल्ला सभापति उठ्ने तयारीमा रहेको स्वीकार गरे। ‘मैले राजनीति नै गर्न नपाउनु ? सभापति नबन्नु ? यो कस्तो कुरा सोधेको ?,’ उनले उल्टै प्रश्न गरे। 

मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले आन्दोलनरत पक्षसँग छलफल गरिएको जानकारी दिए। रंगेलीका मेयर दिलीप बगडिया भाइको उपचार गर्न भारत गएका छन्। मेयर फर्किएपछि छलफलबाट समस्या सामधान गर्न आग्रह गरिएको प्रजिअ भट्टराईको भनाइ छ। वार्ता र छलफलबाटै समस्याको समाधान खोज्ने प्रयास भइरहेको उनले बताए। 

त्यस्तै, रंगेली नगरपालिकाविरुद्ध भइरहेको आन्दोलनमा धनपालथान गाउँपालिकाका अध्यक्ष जीवछप्रसाद गच्छदार पनि बिहीबार सहभागी भएका थिए। सशरीर उपस्थित भएर आन्दोलनमा ऐक्यबद्धता जनाउँदै नाराबाजी र प्रदर्शनममा सहभागी भए। गच्छदारले रंगेली नगरपालिकाविरुद्ध भाषण पनि गरे। गच्छदार कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्। रंगेली र धनपालथान छिमेकी पालिका हुन्। एउटा पालिकाविरुद्ध भइरहेको आन्दोलनमा साथ दिएका कारण अरू पालिकाका प्रमुखहरू धमाधम विवादमा तानिन थालेका छन्। उनीहरूले आफ्नो पालिका बनाउनलाई भने ध्यान नदिएको आरोप लाग्ने गरेको छ।

कांग्रेस–एमाले खटपट 

रंगेलीमा भएको आन्दोलनलाई समर्थन जनाउँदै अन्य पालिकाका प्रमुख एवं जनप्रतिनिधि पुग्न थालेपछि सत्तारूढ कांग्रेस र एमालेबीच खटपट सुरु भएको छ। विराटनगरका मेयर कोइराला आन्दोलनमा सहभागी भएको २४ घण्टा बित्न नपाउँदै त्यसको ‘काउन्टर’मा नेकपा ९एमाले० मोरङले महानगर प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ।

एमालेले निर्वाचन भएको २ वर्ष ५ महिना बिते पनि महानगरले विकास निर्माणको सबालमा अपेक्षित काम गर्न नसकेको भन्दै मेयरलाई आफ्नो काममा ध्यान दिन बिहीबार आग्रह गरेको छ। तर, विराटनगरको कार्यपालिकामा एमालेकै बहुमत छ। एमालेले सडक निर्माण, ढल निकास, स्वास्थ्य, शिक्षा र अन्य पूर्वाधारसम्बन्धी विभिन्न स्थानीय विकासका मुद्दाहरूमा ध्यान केन्द्रित गर्न आग्रह गरेको छ। ‘विराटनगरको मेयर रंगेलीमा पुगेर पालिकाले गरेको संस्थागत निर्णयको विपक्षमा जे प्रतिक्रिया दिनुभयो त्यो बेठिक थियो। उहाँको क्षेत्राधिकारभन्दा बाहिर गएर एउटा नगरप्रमुखले अर्को नगरप्रमुखको सार्वभौम निर्णय गर्ने अधिकारलाई जुन प्रकारले हस्तक्षेप गर्नुभयो त्यो न्यायोचित थिएन। किन त्यसो गर्नु भयोभन्ने हाम्रो प्रश्न हो,’ एमाले मोरङका अध्यक्ष बाबुराम कार्कीले भने।

उनले एउटा पालिकाले गरेको कामको विषयमा अर्को पालिका प्रमुखले बोल्नु उचित नभएको बताए। ‘एउटा पालिका नेतृत्वले अर्को पालिकालाई या त्यो प्रकारको प्रतिक्रिया दिने कुरा बेठिक हो, तपाईंको गरेको बेठिक हो भनेर ध्यानाकर्षण पत्र दियौं ,’ कार्कीले भने, ‘महानगरमा उहाँ (कोइराला)ले गर्नुभएको क्रियाकलाप संगतिपूर्ण छैन। ‘ट्रान्सपरेन्स’ छैन। ‘एकाउन्टेबल’ छैन। आफैंले गरेका निर्णय बदर गर्नु भएको छ।’

‘कांग्रेसको ‘कन्सर्न’को विषयमा रंगेलीका मेयर साबले मेरो भाइ बिरामी छ, दिल्लीबाट उपचार गरेर आएपछि छलफल गरौं भन्नु भएको रहेछ। तर कांग्रेसले आन्दोलन गरेको छ। आन्दोलनका नाममा जथाभावी गरेको छ,’ कार्कीले भने, ‘रंगेलीको भन्दा पनि विराटनगरको गर्न काम गर्न सक्नु भएको छैन। त्यसका बारेमा उहाँलाई भन्यौं।’

एमालेको ध्यानाकर्षण पत्र बुझ्दै महानगर प्रमुख कोइरालाले विकास निर्माणका काममा आवश्यक बजेट नहुँदा ढिलासुस्ती भएको बताए। बजेटका लागि प्रदेश र संघीय सरकारसमक्ष पहल भइरहेको उनले बताए। कांग्रेस र एमाले अहिलेका सत्तारूढ दल हुन्। तर, मोरङमा भने रंगेली घटनाले गर्दा दुवै दलबीच खटपट उत्पन्न भएको हो।

बजार र यातायात बन्द, कर्मचारीमाथि दुर्व्यवहार 

कर वृद्धिको विरोधमा कांग्रेसको अगुवाइमा भइरहेको आन्दोलन उग्र बन्दै गएको छ। आन्दोलनकारीले शुक्रबार केहीबेर रंगेली बजार र यातायात बन्द गराए। बन्दका कारण बजार र यातायात ठप्प भयो। त्यसअघि कार्यालय प्रवेशमा रोक लगाउँदै कर्मचारीमाथि हातपात एवं दुव्र्यवहार गरिएको रंगेली नगरपालिकाका प्रवक्ता ढकप्रसाद आचार्यले बताए। उनका अनुसार बिहान ९ बजेदेखि नै आन्दोलनकारी नगरपालिका गेटमा बसेर कर्मचारीलाई कार्यालय प्रवेशमा अवरोध गरेका थिए। 

आचार्यका अनुसार छलफल र वार्ताबाटै समस्याको समाधान खोज्ने प्रयास भइरहेको छ। तर, आन्दोलनलाई उग्र बनाउँदै लगिएकाले समस्या भएको उनको भनाइ छ। आन्दोलनमा सहभागीमध्ये रंगेली–२ का ४३ वर्षीय सुवास सिग्देललाई नियन्त्रणमा लिएर प्रहरीले केहीबेरमा छाडेको थियो। सिग्देल कांग्रेस मोरङ क्षेत्र नम्बर २ का सचिव हुन्। उनीलगायतले कर्मचारीमाथि हातपात र दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ। 

आन्दोलनको नेतृत्व कांग्रेस मोरङका सचिव घिमिरे र रंगेली नगर सभापति जगरनाथ मण्डलले गरिरहेका छन्। कर्मचारीलाई अवरोध गर्ने योजनासहित शुक्रबार बिहानदैखि करिब १ सय ५० जनाको संख्यामा कांग्रेस कार्यकर्ताहरू नगरपालिकाअगाडि भेला भएका थिए। वृद्धि गरिएको कर तत्काल नघटाए आन्दोलनलाई थप सशक्त बनाउने घोषणा कांग्रेसको छ। मोरङ प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले सम्भावित घटनालाई मध्यनजर गरेर रंगेलीको सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए । यो खबर आजको अन्नपूर्ण पोष्टमा प्रकाशित भएको छ ।