एशिया प्यासिफिक केयर फोरमको प्यानलिष्टका लागि उपप्रमुख डंगोललाई निमन्त्रणा 

काठमाडौँः  कार्तिक ६ देखि ८ गते (अक्टोबर २२–२४) थाइल्याण्डको वैङ्ककमा आयोजना हुने दोस्रो एशिया प्यासिफिक केयर फोरमको प्यानलिष्टका रुपमा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललाई निमन्त्रणा गरिएको छ । यूएन वुमनका नेपाल प्रतिनिधि प्याट्रिसिया फर्नान्डेजले उपप्रमुखको कार्यकक्षमा आएर ‘केयरिङ् सिटिज’ शीर्षकमा हुने संवाद र छलफल सत्रको प्यानलिष्टका रुपमा सहभागी हुन निमन्त्रणा दिइएको हो । प्यानल, लैङ्गिक उत्तरदायी सहरी योजनाका विषयमा केन्द्रीत हुनेछ ।

कार्यक्रममा हेरचाह र महिलाहरुको आर्थिक सशक्तिकरणको सम्भावनालाई आगामी दिनमा कसरी हेर्न सकिन्छ? नीति, योजना, कार्यक्रम र लगानीका कोणबाट साझा बुझाइ निर्माण गरिनेछ । यस्तै ‘केयर इकोनोमी’ का सफल र असल अभ्यासहरुको आदानप्रदान र छलफल हुनेछ । महिला सशक्तिकरणको एशिया प्यासिफिक क्षेत्रमा विद्यमान सोचको पुस्तान्तरण, यसको रुपान्तरणमा महिलाहरुको आर्थिक सशक्तिकरण, रुपान्तरणका लागि निजी तथा सामुदायिक संघसंस्थाहरुको दायित्व, लगानी र भूमिका, केयर  इकोनोमी (हेरचाह अर्थतन्त्र) देखि केयर सिस्टम (हेरचाह प्रणाली) सम्मको चक्रमा केयर इन्टरप्रेनरसिप (हेरचाह उद्यमशीलता) लगायत विषयहरुलाई फोरममा प्रस्तुतिकरणका रुपमा राखिनेछ । छलफल र संवाद गरिनेछ । 

b4c6d1b5-38a3-47ee-87bc-822e237863d5

कार्यक्रमको निमन्त्रणा ग्रहण गर्दै उपप्रमुख डंगोलले, महानगरपालिकाले कार्यान्वयनमा ल्याएका एकल सेवा केन्द्रसँगैको स्तनपान कक्ष र लिङ्गका आधारमा हुने हिँसालाई तत्काल सम्बोधन गर्न गठन गरिएका वडा महिला सञ्जालका बारेमा जानकारी गराइन । उनले शासन प्रणालीमा महिला सहभागिताको प्रसङ्ग उठाउँदै भनिन्, ‘प्रणालीले महिलाहरुलाई पदीय स्थानहरु सुनिश्चित गरेको छ । कतिपय ठाउँमा पदीय दायित्वलाई अर्थपूर्ण बनाउन र कुशलतापूर्वक सम्पन्न गर्न क्षमता विकासका कार्यक्रम चाहिएका छन् ।’ उनले पारिवारिक तथा सामाजिक अवस्थामा महिलाहरुको आर्थिक सशक्तिकरणको विषयलाई क्रमशः सम्बोधन गर्दै जानु पर्ने अवस्था रहेको उल्लेख गरिन् । 

भेटका क्रममा फर्नान्डेजले भनिन्, ‘लिङ्गका आधारमा हुने असमानता घटाउन यहाँले प्रस्तुत गर्नु हुने दृष्टिकोण धेरैले प्रतिक्षा गर्नुभएको छ । प्रतिक्षा छ भन्ने कुरा म यसकारण पनि भन्न सक्छु कि, प्यानलिष्टका रुपमा तपाईँलाई नै बोलाउन धेरै ठाउँबाट अनुरोध आएको थियो ।’ 

एशिया प्यासिफिक क्षेत्रका महिलाहरू पुरुषहरूका तुलनामा बेतलबी केयर (हेरचाह) कार्यको असमान बोझमा छन् । महिलाहरु श्रम बजारमा कम आउनुको प्रमुख कारण उनीहरुमाथि भएको केयर (हेरचाह) सम्बन्धी जिम्मेवारी हो । यसकारण पनि श्रममा आउनेमध्ये पनि धेरै महिला या त कम ज्यालामा, या त सीमित श्रममा काम गरिरहेका छन् । 

सहरीकरण, परिवर्तनशील पारिवारिक संरचना, बसाइँसराइ जस्ता कारण बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुको हेरचाह सेवाको माग बढ्ने क्रममा छ । एशिया प्यासिफिक क्षेत्रमा भएको यो अवस्थाबाट सम्मानजनक रोजगारीको अवसर सिर्जना हुन सक्छ । यस प्रकारको सेवाले व्यक्तिलाई उचित हेरचाह र परिवारको आवश्यकता पूरा हुन्छ । 

लैङ्गिक उत्तरदायी सहरी योजनाका कुरा गर्दा यस्तो अवस्थालाई पुनःपरिभाषित वा नयाँ आकारमा कल्पना गर्न फोरमले मद्दत गर्नेछ ।