काठमाडौँः  लैङ्गिकता र लक्षित वर्गसँग सम्बन्धित सेवाहरुलाई भौगोलिक सूचना प्रणालीमा आवद्ध गराउने कार्यक्रम थालनी गर्ने काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले बताएकी छन् । कार्तिक ६ गतेदेखि ८ गतेसम्म थाइल्याण्डको वैङ्ककमा यूएन वुमनले आयोजना गरेको दोस्रो एशिया प्यासिफिक केयर फोरममा भाग लिएर स्वदेश फर्किएपछि अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा फोरमपछिको योजनाका विषयमा उनले यस्तो प्रतिक्रिया दिएकी हुन् । उनलाई प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्ले र उपप्रमुखको सचिवालयका प्रमुख सौरभ गौत्तमले स्वागन गरेका थिए । 

अहिले उपलब्ध भएका पूर्वाधार र सेवा सम्बन्धी आधारभूत तथ्याङ्क नक्साङ्कन भएपछि लैङ्गिमैत्री सहरी योजना तर्जुमा गर्न र थालिएका कार्यक्रमलाई सुधार गर्न, थप गर्न वा व्यवस्थापन गर्न सजिलो हुने उनको भनाइ छ ।  

बुधबारको प्यानलमा कुराकानी गर्दै उनले ‘स्तनपान कक्ष, महिलाका लागि छुट्टै शौचालय, शिशु स्याहार कक्ष, लिङ्गका आधारमा हुने हिंसा न्यूनीकरणलगायत विषयमा धारणा राख्दै महानगरपालिकाले यसका लागि नीतिगत र संस्थागत प्रबन्ध गरिसकेको बताइन । ‘केयरिङ् सिटिज’ शीर्षकको प्यानलिष्टका रुपमा बोल्दै उनले पेशा र व्यवसायमा आवद्ध महिलाहरुको शिशुको केयर, खानपान, औषधि उपचार गर्नु पर्ने ज्येष्ठ नागरिक भएका घरमा त्यस्ता ज्येष्ठ नागरिकको केयर, एउटै भवनमा सेवाका विविधकरणका फाइदाका विषयमा धारणा राखेकी थिइन् । उनले उदाहरण दिँदै भनिन्,  ‘सिनेमा घरसँगै शिशु स्याहार केन्द्र भयो भने आमाहरुलाई निर्धक्क सिनेमा हेर्न मिल्छ ।’

06a2870c-d4fb-4df3-b349-23a49d8f0d07

अहिलेसम्म चलेका कार्यक्रममा रुपान्तरणको खाँचो देखाउँदै उनले भनिन्े, ‘मातृशिशु कार्यक्रम लामो समयदेखि चलिरहेको छ । अहिले शिशु स्याहारमा पुरुषहरु पनि सहभागी हुनुहुन्छ । रातको समयमा शिशु स्नेहका लागि काम गर्नुहुन्छ । उहाँहरुलाई पनि त तालिम दिनुपर्छ नि । अब हामी यसतर्फ कार्यक्रम सोच्छौँ ।’  

केयर (हेरचाह) र महिलाहरुको आर्थिक सशक्तिकरणलाई आगामी दिनमा सहरी योजनामा कसरी शसक्त बनाउने सकिन्छ?, नीति, योजना, कार्यक्रम र लगानीका कोणबाट साझा बुझाइ निर्माणमा लक्षित थिए । यस्तै ‘केयर इकोनोमी’ का सफल र असल अभ्यासहरुको आदानप्रदान भएका थिए । महिला सशक्तिकरणको एशिया प्यासिफिक क्षेत्रमा विद्यमान सोचको पुस्तान्तरण, यसको रुपान्तरणमा महिलाहरुको आर्थिक सशक्तिकरण, रुपान्तरणका लागि निजी तथा सामुदायिक संघसंस्थाहरुको दायित्व, लगानी र भूमिका, केयर  इकोनोमी (हेरचाह अर्थतन्त्र) देखि केयर सिस्टम (हेरचाह प्रणाली) सम्मको चक्रमा केयर इन्टरप्रेनरसिप (हेरचाह उद्यमशीलता) का विषयलाई फोरममा महत्वका साथ उठाइएको छ ।