विराटनगरः सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले राष्ट्रको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने खेलाडीलाई सरकारले प्रोत्साहन गर्ने बताएका छन् ।

मोरङको बुढीगङ्गा गाउँपालिका– ३ बाँसबारीमा शुरु भएको अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । खेलकुद परिषद्अन्तर्गत कार्यालयका प्रशासनिक तहमा कर्मचारीलाई उचित स्थानमा पदस्थापन गरी खेल खेलेर राष्ट्रका लागि योगदान दिने खेलाडीको मनोबल उठाउन वर्तमान सरकारले आगामी दिनमा काम गर्ने उनले बताए ।

३ तहकै सरकारको सहयोगमा प्रदेशको खेलकुद क्षेत्रको विकास गरी दक्ष खेलाडी उत्पादन गर्न खेलकुद क्षेत्रका पूर्वाधारको निर्माण कार्य चाँडै शुरु गरिने विश्वास दिलाए ।

कार्यक्रममा बोल्दै सङ्घीय सांसद डा. डिला सङ्ग्रौलाले गाउँपालिकाको सुविधा सम्पन्न कभर्ड हल निर्माणका लागि सङ्घीय सरकारसँग पहल गर्ने बताए । मोरङ कबड्डी सङ्घका अध्यक्ष भुवनेश्वर मण्डल, प्रदेशसभा सदस्य चुमनारायण तवदार, बुढीगङ्गा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझी र कबड्डी सङ्घका केन्द्रीय कोषाध्यक्ष अरविन्दकुमार झाले खेलकुदको माध्यमबाट उत्कृष्ट प्रदेश बनाउन खेलाडीलाई सेवा सुविधा थप गरी गुणस्तरीय खेलकुदको पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए ।

प्रदेश नं १ मा पहिलो पटक आयोजित सो प्रतियोगिता पुस २९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालका २ टिम तथा भारत, बङ्गलादेश र श्रीलङ्काको सहभागिता छ । प्रतियोगिताअन्तर्गत भएको उद्घाटन खेलमा नेपाल आर्मीले भारतलाई ३३–१९ अङ्कले पराजित गरेको छ । अर्को खेलमा बङ्गलादेशले नेपाल (आयोजक) लाई ४२– ११ अङ्कले पराजित गरेको छ ।

lalababu udghatan (1) lalababu udghatan (2)