काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन विपरीत काम र अपराध गर्नेलाई सरकारले नछाड्ने स्पष्ट पारेका छन्।
नेकपा (एमाले) का काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला कमिटीले आज दरबारमार्गमा आयोजना गरेको जागरण सभामा सम्बोधन गर्दै एमालेका अध्यक्ष ओलीले स्थिरता र सुशासनका लागि सोच, विचार गरेरै एमाले र नेपाली काङ्ग्रेस मिलेर सरकार बनाएकाले सरकार त्यस्ता गलत कार्यलाई नियन्त्रण गर्न सक्षम रहेको बताएका हुन् ।
आफूहरू विरुद्ध अनेक हल्ला चलाइए पनि एमाले भ्रमको पछि नदौडने जनाउँदै उनले कागले कान लग्यो भन्दैमा कागका पछि पछि आकाशतर्फ हेरेर कागका पछि पछि दौडन आवश्यक नरहेको बताए ।
“आफैँ सरकारी ठगी गर्ने अनि अरूलाई दोष लगाउने, मुख छाड्ने, गाली गर्ने जस्ता काम भएका छन् । यस्ता कुनै पनि प्रकारको ठगी सह्य हुँदैन । नेपाली जनता आफ्नो संस्कृतिको इतिहास र गौरवलाई कायम गर्दै समृद्ध नेपाल सुखी नेपालीको सङ्कल्पलाई पूरा गर्न अघि बढ्नेछ । नेपाली जनता भ्रममा पर्दैनन् ।’’, प्रधानमन्त्री ओलीले भने, “अलोकतान्त्रिक बाटोबाट अराजकता सिर्जना गरेर समाजलाई भाँड्न खोज्नेहरूले सार्वभौम जनताको भविष्यलाई सङ्कटमा पर्ने प्रयास गरिरहेका छन् । यसमा हामी सचेत रहनुपर्छ । हाम्रा लागि देश र जनता प्रमुख कुरा हो । त्यसमा हामी दृढ तथा एकताबद्ध भएर लाग्नुपर्छ ।’’
प्रधानमन्त्री ओलीले आफ्ना सन्तानलाई अकुत सम्पत्ति थुपारेर अरबौँका मालिक बनेकाहरूले आफ्नो विरुद्ध आरोप लगाउँदै हिँडेका स्पष्ट गदै आफूमाथि भ्रष्टाचारको औँला ठड्याउनेलाई बहसमा आउन चुनौती दिए ।
अहिलेको समीकरण र सरकारलाई कसैले हल्लाउन नसक्ने बताउँदै प्रधानमन्त्री ओलीले अहिलेको सरकार समाज र समुदायबिच अनेक खालका विद्वेष फैलाउने कार्यलाई निरुत्साहित गर्न लाग्ने बताए ।
बैङ्कको ऋण तिर्नु पर्दैन भन्नेहरूले देशको अर्थतन्त्रलाई ध्वस्त बनाउने उल्लेख गर्दै उनले उद्योगबाट बिलबमोजिम बक्यौता नउठाउने तर बिजुलीको लाइन काट्ने काम पनि देशको अर्थतन्त्र ध्वस्त पार्न खोज्ने शक्तिले गरेको दाबी गरे ।
लगानी गर्न उद्योगी व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री ओलीले लगानी मैत्री वातावरण निर्माण भइरहेकाले लगानी गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गरे ।
प्रधानमन्त्री ओलीले सरकार नेपालमा शान्ति सुरक्षा कायम गरेर ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने अभियानमा रहेकाले ढुक्क भएर लगानी गर्न आग्रह गरे ।
“नेपालको आर्थिक अवस्था खराब अवस्थामा थियो । अहिलेको एमाले–कांग्रेसको सहकार्यमा बनेको सरकारले लिएको नीति र योजनाका कारण अर्थव्यवस्थामा सुधार भइरहेको छ”, प्रधानमन्त्री ओलीले भने ।
आर्थिक सुशासन र आर्थिक वृद्धि नभएसम्म देशमा विकासको गति बढ्न नसक्ने भएकाले नेपालका उद्योगी व्यवसायीसँगै बहुराष्ट्रिय कम्पनीहरूलाई समेत लगानी गर्न प्रधानमन्त्री ओलीले आग्रह गरे । “तपाईँहरू लगानी गर्नुस्, सरकारले सुरक्षा र सुशासनको व्यवस्था गर्नेछ”, उनले भने । रासस