इटहरीः सुनसरीको इटहरी–१७ स्थित लबिपुरमा सम्पन्न प्रथम लबिपुर च्यालेञ्ज कप फुटबल प्रतियोगिताको उपाधी इटहरीको संयुक्त युवा क्लब पानधारेले जितेको छ ।

शनिबार सम्पन्न फाइनल खेलमा मैत्री युवा परिवार झुम्कालाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै पानधारेले उपाधी जितेको हो । निर्धारित समयमा दुवै टिमबाट कुनै पनि गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । उपाधीसँगै पानधारेले नगद ३० हजार र ट्रफी पायो ।

उपविजेता बनेको मैत्री युवा परिषद्ले नगद २० हजार र ट्रफी पायो । विजेता तथा उपविजेता टिमलाई इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी, एन्फा सुनसरी अध्यक्ष केशव कार्की, उपाध्यक्ष देवेन्द्र बास्तोला लगायतले पुरस्कार वितरण गरेका थिए ।

पुस १४ गतेदेखि शुरु भएको सो प्रतियोगितामा सुनसरी र मोरङका १८ वटा टिम सहभागी भएको खेल संयोजक रामबाबु चौधरीले बताए । न्यु प्रगति युवा क्लब लबिपुरले प्रतियोगिता आयोजना गरेको थियो ।