काठमाडौंः दिगो वन व्यवस्थापनमा नमुना कार्य गरिरहेको तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ मा रहेको मधुवन सामुदायिक वन उपभोक्ता समूहले शनिवारबाट काठ दाउरा उत्पादन रोजगारी प्रवर्द्धन कार्यक्रमको सुरुवात गरेको छ ।
सब डिभिजन वन कार्यालय देवघाट कार्यालयका प्रमुख कृष्णराज भट्टको उपस्थितिमा सुरु भएको१३ दिनसम्म चल्ने मधुवन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डिल्ली गिरीले जानकारी दिए ।
अध्यक्ष गिरीका अनुसार शनिवार काठ दाउरा उत्पादन रोजगारी प्रवर्द्धन कार्यक्रम अन्तरगत संवर्द्धन तथा फिल्ड अभ्यास कार्यक्रममा मधुवन सामुदायिक वन उपभोक्ता समूहमा आबद्ध उपभोक्ताहरूको उत्साहका साथ उलेख्य सहभागिता रहेको थियो ।
सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल(फेकोफन) केन्द्रीय कार्यालयको सहयोगमा स्वीकृत वार्षिक कार्य योजनामा उल्लेख भए अनुसार १० हेक्टर क्षेत्रफल वन क्षेत्रमा काठ दाउरा उत्पादन रोजगारी प्रवर्द्धन कार्यक्रम सञ्चालन हुने अध्यक्ष गिरीले बताए । दिगो वन व्यवस्थापनमा नमुना कार्यका लागि पर्यापर्यटनको विकाससँगै स्थानीय उपभोक्ताहरूलाई रोजगार सृजना गर्नका लागि सो प्रत्येक वर्ष गरिने अध्यक्ष गिरीले बताए ।
स्वीकृत कार्य योजना अनुसार समूहमा आबद्ध ३४२ घरधुरीका ६ सय ८४ उपभोक्ताहरूले २ दिन फिल्डमा खट्ने छन् । फिल्डमा खटिएका उपभोक्ताहरूले रोजगार सृजनाका लागि छुटाइएको १० हेक्टर वन भित्र गोडमेल गर्ने, पात पतिङ्गर र झाडी सपाइ गर्ने, दाउराका रूपमा प्रयोग हुने स साना लाथ्राहरू निकाल्ने कार्य गर्ने छन् । निकालिएका पातपतिङ्गर र झाडीबाट जैविक मल बनाउने अध्यक्ष गिरीले बताए । लाथ्राहरूलाई वन समूहले घाटगद्धी गर्ने र नियम अनुसार सामान्य शुल्क लिएर उपभोक्ताहरूलाई वितरण गर्ने अध्यक्ष गिरीले जानकारी दिए ।
१३ दिन लगाएर १० हेक्टर वन क्षेत्र गोडमेल र सपाइ गरेपछि डढेलो लाग्नबाट पनि सहजै बच्ने अध्यक्ष गिरीले जानकारी दिए ।
देशभरका २२ हजार बढी सामुदायिक वनहरूमा दिगो वन व्यवस्थापनका लागि पर्यापर्यटनसँगै, पानीको मुहान संरक्षण, प्रथाजनित अभ्यासद्वारा वन संरक्षण, वन भित्रै कुश, अम्रिसो, बेसार लगायतका खेतीलाई समेत अगाडि बढाई रहेको मधुवन सामुदायिक वनको देशभरमा स्थानीय पालिकाका प्रमुख उपप्रमुखहरूले समेत अध्ययन÷अवलोकन गरिसकेका छन् ।
डिल्ली गिरी नेतृत्वमा आएसँगै मधुवन सामुदायिक वन उपभोक्ता समूहले आफूलाई दिगो वन व्यवस्थापनमा अब्बल बनाउँदै अगाडि बढेको हो । गिरीकै सक्रियतामा यो वन भित्र स्थानीय उपभोक्ताहरूको स्वास्थ्यलाई समेत ख्याल पुराउँदै पर्यटकहरूलाई समेत आकर्षण गर्ने उद्देश्यले खुल्ला व्यायामशाला समेत सञ्चालनमा ल्याएको छ ।